दमकमा छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु
झापाको दमकमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना बेवारिसे व्यक्तिको मृत्यु भएको हो भने अर्का एक जना आश्रितको मानव उद्धार सेवा आश्रममा मृत्यु भएको छ । हिजो दिउँसो ४.४५ बजे दमक ६ पूर्व बसपार्कस्थित स्वामीको रुखमुनि रहेको सिमेन्टको चौतारामा तत्काल नाम, थर, वतन नखुलेको तराई मुलको जस्तो देखिने मागी खाइहिँड्ने वर्ष ६५ का पुरुष मानिस उत्तानो परी मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको छ ।
त्यस्तै दमक –२ स्थित मानव उद्धार सेवा आश्रममा एक जना आश्रितको मृत्यु भएको छ । असोज ७ गते कमल –६ काटाचोकबाट तत्काल वतन नखुलेको वर्ष ८९ का डम्बरबहादुर दमाई नाम बताउने वृद्धलाई उद्धार गरी उक्त आश्रममा लगी राखिएको थियो । हिजो बिहान ९ बजे ओछ्यानमा सुतेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ ।