कारागारबाट फरार कैदी स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ
जेनजी आन्दोलनको बेला सुनसरीको झुम्का र सिन्धुली कारागारबाट फरार भएका दुई जना कैदी मोरङमा पक्राउ पक्राउ परेका छन्।
दुवै जनालाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो। सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति विराटनगरमा चोरीको स्कुटरसहित पक्राउ परेका छन्। उनी भदौ २४ गते राति झुम्का कारागारबाट भागेका थिए। विराटनगर महानगरपालिका–१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरी भाग्दै गर्दा उनलाई विराटनगर–१६ दरैयाबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
जैसवाल यसअघि पनि मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका थिए। सो मुद्दामा जिल्ला अदालत सुनसरीले उनलाई गत जेठ ३० गते ५ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनी उक्त सजाय भुक्तान गर्दै गर्दा भदौ २४ गते राति अन्य कैदीबन्दीसँगै झुम्का कारागारबाट फरार भएका थिए।
त्यस्तै, सिन्धुली कारागारबाट फरार भएका ३९ वर्षीय उपेन मण्डल बिहीबार दिउँसो २:३० बजेतिर मोरङको धनपालथानबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले धनपालथान गाउँपालिका–३ सोराभागका उनलाई पक्राउ गरेको हो। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका मण्डललाई जिल्ला अदालत मोरङले ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो।
प्रहरीका अनुसार मण्डलले ७ वर्ष कैद भुक्तान गरिसकेका थिए। १ वर्ष ६ महिना कैद बाँकी रहँदै उनी पनि जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते सिन्धुली कारागारबाट फरार भएका थिए। कारागार प्रशासनले उनलाई केही समयअघि स्थानान्तरण गरेर जिल्ला कारागार मोरङबाट सिन्धुली पठाइएको पुष्टि गरेको छ।