दमकबाट लुटिएको गोली भेटियो, वर्दी र हतियार लुट्ने दुई जना समातिए
दमक । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको एक थान गोली भेटिएको छ । हिजो बिहान १०ः३० बजे दमक नगरपालिका-८ लक्ष्मी मार्ग बस्ने ३८ वर्षीय कृष्णप्रसाद पाठकले बाटोमा बेवारिसे अवस्थामा एसएमजीको राउन्ड (एमएम)को १ थान गोली फेला पारेका हुन् । उनले सो गोली इप्रका दमकमा ल्याई बुझाएका छन् ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा दमक प्रहरीको पोसाक लुटेर लगाई पोसाकको दुरुपयोग गर्ने दमक-२ भाङबारी बस्ने ३३ वर्षीय रोशन साउदेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे लिम्बूलाई दमक-६ थाना रोडबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई राखिएको छ ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेर लाने इलाम चुलाचुली-३ पेल्टीमारी बस्ने १९ वर्षीय सुजन राईलाई दमक-१ फाल्गुनन्दबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हतियार लुट्ने एकजना यसअघि पक्राउ परेका छन् । प्रहरी कार्यालय आक्रमण र हतियार लुट्नेहरूको खोजी भइरहेको दमक प्रहरीले जनाएको छ ।