सुन हेर्न बोलाएर सरोज शर्माको हत्या, आरोपी मामा–भान्जा सार्वजनिक
झापा । झापा शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ वर्षीय सरोज शर्माको हत्या आरोपमा पक्राउ परेका मामा–भान्जालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरी सरोजको हत्या आरोपीहरू शिवसताक्षी–१० माईधारकै २७ वर्षीय सुनिल साह र अन्दाजी २३ वर्षीय राहुल साहलाई सार्वजनिक गरेको हो । उनीहरू नातामा मामा भान्जा हुन् । आरोपी एक जना भारतीय नागरिक फरार रहेका छन् ।
घटनाका मुख्य योजनाकार सुनिलले छिमेकी साथी सरोजको हत्या आर्थिक प्रलोभनमा परी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अपहरण, शरिर बन्धक, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाएको डीएसपी खडकाले बताए ।
प्रहरीका अनुसार कार्तिक ९ गते बेपत्ता भएकै दिन सरोजको हत्या भइसकेको थियो । सरोजसँग धेरै पैसा रहेको लोभ सुनिलको मनमा पस्यो । काठमाडौँमा आइटीको काम गर्दै आइरहेका सरोज नयाँ गाडी लिएर चाडबाड मनाउन घर आएका थिए । सरोज र सुनिलको त्यस अवधिमा भेट भयो । सरोजले सस्तोमा सुन किन्नु पर्यो र काठमाडौँ लगेर बेच्नु पर्यो भन्दै सुनिललाई खोज्न लगाए । सुनिलले सरोजको कुरा स्वीकारे र मनमनै अर्को योजना बनाए । सुनिलले बनाएको योजना सरोजले थाहा नै पाएनन् ।
हत्या भएकै दिन सुनिलले सरोजलाई सुन ल्याएको र हेर्न आउन भन्दै ललाइफकाइ गरी अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाए । सुनिलले भान्जा राहुललाई त्यहाँ बोलाइसकेका रहेछन् । सुनिलले भान्जा राहुलसँग मिलेर सरोजलाई अपहरण गरी घरबाट माटो रकम फिरौती माग्ने योजना बनाएका थिए । तर, उनीहरूको त्यो योजना सफल भएन । उनीहरूले हतौडाले हिर्काएर साँझ साढे ५ बजे सरोजलाई मारिदिएको अनुसन्धानको क्रममा खुलेको डीएसपी खडकाले बताए ।
त्यही राती सुनिल र राहुलले एक जना भारतीय युवकको सहयोगमा सरोज चढने सेन्लटस कम्पनीको बा १ – ०३०– च ७१९४ नम्बरको कारको डिक्कीमा उनको शव राखेर झापा गाउँपालिका ५ सीमा पर्ने बिरीङ नदीको पुल मुनि लगेर गाडिदिएका थिए । र उनको कार जंगलमा लुकाएर राखेका थिए । सुनिललाई प्रहरीले घटना घटेको भोलिपल्टै पक्राउ गरेको थियो ।
प्रमाण नभेटेपछि उनलाई छाडिदिएको बताउँदै डीएसपी खडकाले भने, ‘प्रहरीले समातेकै डरकै कारण सुनिलले सरोजको कार जलाएर प्रमाण नष्ट गर्न खोजेका थिए ।’ सुनिलले सरोजको कार कार्तिक १३ गते बिहीबार बिहान १० बजेको समयमा चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत करिब २०० मिटर पश्चिम चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र ल्याएर जलाइदिएर फरार भए ।
तर, घटनास्थलमा सुनिलले लगाएको एउटा चप्पल प्रहरीले फेला पार्यो । सोही चप्पलको आधारमा सुनिल र उनको भान्जालाई पक्राउ गरेपछि सरोजको हत्या काण्ड बाहिर आएको डीएसपी खडकाले बताए ।