झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र नेपाली पुलिसको भिडन्त
प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्रको एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछ । शिवसताक्षीस्थित दुधे रंगशालामा हुने फाइनल खेलमा विजेताले टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एपीएफ क्लब महिला फुटबलमा एक सफल टोली मानिन्छ । यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा एपीएफ उपाधि जितेका छन् । फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ । त्यस्तै, नेपाल पुलिस क्लब पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ । अनुभवी रेखा पौडेल, पूजा राना मगर जस्ता खेलाडीहरूको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ । फाइनल खेलमा झापाका फुटबल प्रेमीहरूको ठुलो भीड हुने अनुमान गरिएको छ ।
आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै एपीएफका प्रशिक्षक जिवेश पाण्डेले भने, ‘हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन, यस पटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।’
त्यस्तै, कप्तान अनिता बस्नेतले भनिन्, ‘हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ, झापाली मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ ।’
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल हो । हाम्रो टोलीमा धेरैपछि रेखा र पूजासँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । ‘त्यसैले यस पटक हामी एपीएफलाई हराउँदै उपाधि जित्छौँ,’ उनले भने । पुलिसकी कप्तान अमृता जैशीले विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन् । ‘हामीले विगतमा धेरै पटक एपीएफसँग पराजय व्यहोरेका छौँ, तर यस पटक बदला लिँदै ट्रफी लिएर जानेछौँ,’ उनले भनिन् ।