२०८३ बैशाख ४ गते , शुक्रबार
झापामा खुकुरी प्रहार गर्ने भुटानी शरणार्थी पक्राउ
झापामा खुकुरी प्रहार गर्ने एक भुटानी शरणार्थी पक्राउ परेका छन् । गएराति अन्दाजी ८ बजे को दमक –३ स्थित बेलडाँगी शिविर सेक्टर ए ३ हट नं. २०० बस्ने २९ वर्षीय प्रदीप विश्वकर्मालाई सोही शिविर सेक्टर डी२ हट नं. १६६ बस्ने ४८ वर्षीय मंगलसिंह राईले खुकुरी प्रहार गरेका हुन् । राईले सामान्य विवादका कारण एक्कासि खुकुरीले विश्वकर्माको घाँटीको बायाँ साइडतर्फ प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेलाई दमक अस्पताल दमकमा ल्याई उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले खुकुरी प्रहार गर्ने राईलाई खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।