आइसिसी टी-२० विश्वकप ट्रफी टुर नेपालमा पनि हुने
भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा पनि ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकपअघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलंका, नेपाल, कतार, ओमान, बहराइन र मंगोलियामा लगिनेछ ।
नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुईपटकको विजेता वेष्ट इण्डिज, एकपटकको विजेता इंग्ल्याण्ड, बंगलादेश र इटाली रहेका छन् ।
नेपालले इंग्ल्याण्ड र इटालीसँग पहिलोपटक खेल्नेछ । नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ । इटालीले पहिलोपटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्याण्डलाई पछि पार्दै नेदरल्याण्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए ।
नेपालले भने तेस्रोपटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्याण्ड्स र नामिबिया रहेका छन् ।
यस्तै ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्याण्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि समूहका शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन् ।