भद्रपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । आज बिहान करिब १०ः३० बजे भद्रपुर नगरपालिका–५ बसपार्कस्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इलाम सूर्योदय नगरपालिका–१२ घर भई हाल बिर्तामोड नगरपालिका–१० मा बस्दै आएका ३३ वर्षीय अनिल प्रधानलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्दा उनले मलद्वारमार्फत प्लास्टिकको पोका पारी लुकाएको लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो । तौल गर्दा प्लास्टिक बाहेक २ ग्राम १०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । त्यस्तै आजै बिहान भद्रपुर नगरपालिका–५ नरसिंह बगानस्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री भद्रपुर नगरपालिका–६ टेलिभिट्टा का २५ वर्षीय नारायण राजवंशीलाई प्रहरीले शङ्का लागि चेकजाँच गर्दा बायाँ खुट्टाको चपलमा लुकाइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो ।
उक्त पदार्थको तौल प्लास्टिक बाहेक १ ग्राम ६१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।