झापा ५ मा 'सुरक्षा थ्रेट', बाहिरबाट थप सुरक्षाकर्मी मगाइँदै
झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीसँगै मनोनयनकै दिनदेखि दुवै पार्टीबिच कडा टक्कर सुरु भएपछि सुरक्षा चुनौती बढेको छ ।
देशकै ‘चुनावी इपिसेन्टर’ बनेको झापा ५ मा सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ । जिल्लाका सुरक्षाकर्मीले नपुग्ने देखेर बाहिरबाट थप सुरक्षाकर्मी मगाइएको छ । जनपद र सशस्त्र गरी दुवै सुरक्षा निकायले माथिल्लो निकायबाट थप सुरक्षाकर्मी माग गरेका छन् ।
झापा ५ मा हिजो आँकलन गरिएको भन्दा बढी सुरक्षा चुनौती देखिएकाले जिल्ला सुरक्षा समितिमा निर्णय गरी माथिल्लो निकायबाट थप जनशक्ति मगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले जिल्लाका सुरक्षा निकायले झापा ५ लाई बढी संवेदनशील लिएको जानकारी दिए ।
झापा ५ कै लागि कोशी प्रदेश प्रहरी कार्यालयबाट सयभन्दा बढी सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । त्यस्तै सशस्त्र प्रहरी बलले पनि बाहिरबाट थप सुरक्षाकर्मी मगाएको छ । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि थप सुरक्षाकर्मी मगाउने विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा छलफल भएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति तुलबहादुर भण्डारीले जानकारी दिए ।