निवर्तमान उपसभामुख इन्दिरा रानालाई झापामा जेनजी युवाको साथ
झापा । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई झापा क्षेत्र नम्बर २ मा जेनजी युवाहरूले उल्लेखनीय साथ दिएका छन् ।
झापा गोल्ड कपको तयारी अभियानअन्तर्गत उनले युवाहरूसँगै साइकल यात्रा गर्दै युवापुस्तासँग प्रत्यक्ष संवाद गरेकी छन् । बिर्ताबजारदेखि अर्जुनधारा नगरपालिकास्थित महानन्द चौकसम्म आयोजित साइकल यात्रामा दर्जनौँ जेनजी युवाको सहभागिता रहेको थियो ।
खेलकुद, नेतृत्व विकास र सकारात्मक सामाजिक अभियानमा युवालाई जोड्ने उद्देश्यसहित गरिएको कार्यक्रममा रानाले युवासँगै साइकल चलाउँदै सहभागिता जनाएकी हुन् । कार्यक्रमका क्रममा रानाले झापा गोल्ड कप केवल खेलकुद प्रतियोगितामा सीमित नरही युवाको ऊर्जा, अनुशासन र नेतृत्व क्षमतालाई उजागर गर्ने अभियान भएको उल्लेख गरिन् । उनले खेलकुदमार्फत युवालाई अनुशासित, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउनेतर्फ सबै पक्ष मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याइन् ।
साइकल यात्रामा सहभागी युवाहरूले खेलकुद, नेतृत्व र सामाजिक अभियानमा रानाको सक्रियताले आफूहरू प्रेरित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले झापा गोल्ड कपको तयारीमा युवाको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए ।