२०८३ बैशाख ३ गते , विहीबार

झापामा निर्वाचन आचारसंहिता विपरित घरदैलो कार्यक्रम

sajilo news
झापा
२०८२ माघ १५ गते , विहीबार
झापामा निर्वाचन आचारसंहिता विपरित घरदैलो कार्यक्रम

झापामा निर्वाचन आचारसंहिताविपरित उम्मेदवारहरूले घरदैलो कार्यक्रम जारी राखेका छन् । फागुन ४ गतेभन्दा अघि कुनै पनि उम्मेदवार, राजनैतिक दल वा तिनका भ्रातृ संघ, संगठन अन्य निकाय तथा सर्वसाधारण कसैले पनि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारले प्रचार प्रसार गर्न पाइने छैन ।

तर, झापामा मनोनयन दर्ताको दिनदेखि नै उम्मेदवारहरूले चुनावी प्रचार प्रसार थालेका छन् । निर्वाचन आचारसंहिताविपरित गर्न नहुने कुराको पटक पटक जानकारी गराइएको भए तापनि उक्त कानुनी व्यवस्थाको उल्लंघन गर्ने क्रम बढेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता २०८२ बमोजिम कारबाही हुने पुनः सूचित गरेको छ । यसअघि पनि प्रशासन कार्यालयले सूचना जारी गरी आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको थियो ।

आचारसंहिता विपरीत ठूला तस्बिरसहितका फ्लेक्स प्रिन्ट (बोर्ड) समेतका सामग्री पुहाँतुबारी, बाहुनडाँगी, दमक, दुहागढीलगायतका स्थानहरूबाट हटाउन लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईँले बताए ।

निर्वाचन क्षेत्र नं. १ मा घरदैलो कार्यक्रम रोक्न लगाइएको उनले जानकारी दिए । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगीलगायतका उम्मेदवारहरूले घरदैलो गरिरहेका थिए । त्यस्तै झापा ५ मा पनि घरदैलो कार्यक्रम बन्द गराइएको दमक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार