२०८३ बैशाख ३ गते , विहीबार

भोलिदेखि झापा गोल्डकपको सातौँ संस्करण, सम्पूर्ण तयारी पूरा

sajilo news
झापा
२०८२ माघ २३ गते , शुक्रबार
भोलिदेखि झापा गोल्डकपको सातौँ संस्करण, सम्पूर्ण तयारी पूरा

भोलिदेखि हुने झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको आज रंगशालामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा चिनिएको प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ ।

फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज,लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्ट क्लब भारत, एन पेनाङ फुटबल क्लब मलेसिया र आयोजक टिम झापा ११ सहित स्वदेशी र विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ ।

२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको छ । पूर्वी नेपालका फुटबल प्रेमी दर्शकमाझ लोकप्रिय मानिने प्रतियोगिता प्रत्यक्ष प्रसारणमार्फत देश तथा विदेशका दर्शकले अवलोकन गर्दै आएका छन् । भरिभराउ रंगशाला, अनुशासित दर्शक संस्कृति र प्रतिस्पर्धात्मक खेलस्तर प्रतियोगिताको विशेषता रहने आयोजकको विश्वास छ ।

यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई खेल उद्घाटनका दिन नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने जनाइएको छ । त्यस्तै जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरणसमेत गरिने भएको छ ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय, प्रायोजक तथा स्वयंसेवकसँग आवश्यक समन्वय गरिसकिएको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।

झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।प्रतियोगिताका लागि खेल मैदान मर्मतको काम पनि सम्पन्न भएको छ भने बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको छ । मञ्च सजावटसहित सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक गिरीले जानकारी दिए ।

सोही अवसरमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले भद्रपुरमा रहेको गोल्डकपको प्रतीक मस्कट ट्रफी हस्तान्तरण गर्दै खेल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार