भद्रपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
भद्रपुर । भद्रपुरमा आठौँ नगरस्तरीय तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुर माविको खेल मैदानमा माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका छन् ।
प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी गरी २४ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू समावेश गरिएको छ ,।
शुक्रबार भएको पहिलो दिनको खेलमा एथलेटिक्सतर्फ १५०० मिटर छात्र दौडमा भद्रपुर माविका आजान खान मिया प्रथम, सगरमाथा माविका सन्ताप थापा द्वितीय र वीरेन्द्र माविका दिलकुमार राजवंशी तृतीय भएका छन् । त्यस्तै १५०० मिटर छात्रा दौडमा हिमाली माविकी सीमा सरदार प्रथम, अरनिको माविकी रीता मुर्मु द्वितीय र सगरमाथा माविकी बिन्दा राई तृतीय भएकी छिन् ।

छात्रतर्फ १०० मिटर दौडमा मोरान मेमोरियलका प्रकाश राजवंशी प्रथम, सिद्धार्थ शिशु निकेतनका सञ्जय हेमरम द्वितीय र हिमाली माविका नवीन राजवंशी तृतीय भएका छन् । छात्रातर्फ १०० मिटर दौडमा वीरेन्द्र माविकी ज्योति महतो प्रथम, हिमाली माविकी सविना तामाङ द्वितीय र अरनिको माविकी सम्प्रदा राई तृतीय भएकी छिन् ।
त्यसैगरी सटपुट थ्रोमा छात्रतर्फ मोरान मेमोरियलका नवदिप राजवंशी प्रथम, सगरमाथा माविका करण पौडेल द्वितीय र अरनिको माविको विजय टुडु तृतीय भएका छन् । सटपुट थ्रोमा छात्रातर्फ वीरेन्द्र माविकी कोपिला राजवंशी प्रथम, मोरान मेमोरियलकी स्मृति खँडिया द्वितीय र चन्द्रभानु माविकी पदमा राजवंशी तृतीय भएकी छिन् ।
त्यस्तै ज्याभलिन थ्रोमा छात्रतर्फ वीरेन्द्र माविका प्रकाश राजवंशी प्रथम, सगरमाथा माविका करण पौडेल द्वितीय र चन्द्रभानु ज्योति माविका सुशान्त लिम्बु तृतीय भएका छन् । ज्याभलिन थ्रोमा छात्रातर्फ हिमाली माविकी जिनु लिम्बु प्रथम, चन्द्रभानु ज्योति माविकी पदमा राजवंशी द्वितीय र मोरान मेमोरियलकी अदिति लोकताम तृतीय भएकी छिन् । भलिबल र कबडी खेलहरू जारी रहेको जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीहरूले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन् । भद्रपुर नगर प्रमुख पोखरेलको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, ७ नम्बर वडा अध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।