अहिलेसम्म दलहरुले जारी गरेको प्रतिबद्धतापत्र ५ प्रतिशत पनि कार्यान्वयन भएन : कुलमान घिसिङ
झापा । उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता (घोषणा) पत्र कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नभएको बताएका छन् ।
पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।
राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन । कार्यान्वयन गर्ने खालको चुनावी प्रतिबद्धता पत्र दलहरूले ल्याउनुपर्छ र त्यसैले उज्यालो नेपाल पार्टीले देशको समृद्धि र सुशासनलाई प्रमुख प्राथमिकतामा राखी कार्यान्वयन गराउने किसिमको प्रतिबद्धता पत्र ल्याउँदैछ । ‘त्यो प्रतिबद्धता पत्र अबको दुईरतिनभित्र सार्वजनिक गरिन्छ,’ अध्यक्ष घिसिङले भने ।
यो देशमा धेरै राजनीतिक परिवर्तनहरू भए । जनताहरूले चुनेर पठाएका धेरै नेताहरूले नेतृत्व पनि गरे । तर, यो देशमा समृद्धि र सुशासनको कुरा कहिले पनि पूरा नभएको बताउँदै अध्यक्ष घिसिङले भने, ‘देशको विकास, समृद्धि र सुशासनको विषयलाई अब हामीले अगाडि बढाउनु पर्छ । अब नयाँ नेतृत्वले भ्रष्टाचारमुक्त समाज, विभेदरहित समाज, देशमै युवाहरूलाई रोजगारीको व्यवस्था र देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने परिकल्पना बोकेर हामी अघि बढिसकेका छौँ ।’
उज्यालो नेपाल पार्टी डेलिभरी दिने पार्टी हो । हामी भाषण र गफ होइन, काममा र परिणाममा विश्वास गछौं । ‘परिणाम लिएर आएको पार्टीलाई आम जनताले विश्वास गर्नुपर्छ र नेतृत्वमा चुनेर पठाउनुपर्छ,’ उनले थपे । हिजोको जेनजी आन्दोलनको जुन एउटा माग थियो । त्यो मागलाई सम्बोधन गर्नलाई र यो देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनका लागि नयाँ नेतृत्व र नयाँ सोच भएकालाई छान्नु पर्ने उनको भनाई छ ।