झापामा पहिलो पटक अन्तराष्ट्रियस्तरको अर्थोकोन सम्मेलन
झापा । झापा जिल्लामै पहिलो पटक हाडर्जोनी विशेषज्ञ डाक्टरहरूको अन्तराष्ट्रियस्तरको अर्थोकोन सम्मेलन २०२६ आजदेखि सुरु हुँदैछ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१ औं वार्षिक साधारण सभाको अवसरमा झापामा अन्तराष्ट्रियस्तरको अर्थोकोन सम्मेलन गर्न लागेको बुधबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमार्फत आयोजक समितिले जानकारी गराएको हो ।
माघ २९ गते देखि फागुन ३ गतेसम्म सञ्चालन हुने यस अर्थोकोन महाकुम्भमा १०० भन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सकहरू सहभागी रहनेछ भने नेपालबाट ४०० भन्दा बढीको चिकित्सकहरूको सहभागिता रहने अर्थोकन सम्मेलन आयोजक समितिका अध्यक्ष डा. लक्ष्मी मैनालीले जानकारी दिए । यो सम्मेलनमा भारत, भुटान, बंगालादेशसहित १० वटा देशबाट हाडजोर्नीका चिकित्सकहरू आउने उनले बताए ।
अर्थोकोनअन्तर्गत माघ २९ गते बिर्तामोडका तीन वटा अस्पतालमा प्रिकन्फरेन्स वर्कसप सञ्चालन गरिनेछ भने फागुन १, २ र ३ गते मेचीनगरस्थित होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिने आयोजक समितिका महासचिव डा. रुपेशजंग बेलबासेले जानकारी दिए ।
युवा सर्जनहरूको लागि यो सम्मेलन विशेष रहनेछ । नेपालमै अर्थोपेडिक बिरामीहरूमा प्रयोग गर्ने टेक्नोलोजीहरू प्रदर्शन गर्नुका साथै हाम्रा देशका चिकित्सकहरूले बनाइएका तीन वटा उपकरणहरू पनि सम्मेलनमा ल्याउने महासचिव डा. बेलबासेले बताए ।
यो कार्यक्रममा नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष डा. विमलकुमार पाण्डे, जनरल सेक्रेटरी डा. नागमणि सिंह, डा. विजेन्द्र अधिकारी, डा. नीराजनप्रसाद पराजुली र डा. प्रेमबहादुर शाही लगायतले सहयोग गरेका छन् ।
कार्यक्रमका लागि कोशी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ, औषधि कम्पनीहरू, इम्प्लान्ट कम्पनी तथा अन्य उद्योगी, व्यवसायी संघसंस्थाहरुको आर्थिक सहयोग रहने जनाइएको छ ।