२०८३ बैशाख ३ गते , विहीबार

बंगलादेशमा संसदीय चुनाव, सुरु भयो मतदान

sajilo news
एजेन्सी
२०८२ माघ २९ गते , विहीबार
बंगलादेशमा संसदीय चुनाव, सुरु भयो मतदान

बंगलादेशमा १३औं राष्ट्रिय संसदीय चुनावअन्तर्गत आज देशभर मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान कडा सुरक्षाबीच सञ्चालन भइरहेको छ। 
यस पटकको आम चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघि उसको  सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ। २०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ। चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ। 
पार्टीका प्रमुख तारिक रहमान, जो १७ वर्षको निर्वासनपछि बेलायतबाट स्वदेश फर्किएका हुन्, आगामी सरकार गठनको अभियानको नेतृत्व गरिरहेका छन्। यस चुनावमा पुर्व प्रधानमन्त्री सेख हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ।  
राजधानी ढाकासहित देशभरका विद्यालय र सार्वजनिक भवनहरूलाई परम्पराअनुसार मतदान केन्द्रमा रूपान्तरण गरिएको छ। निर्वाचन आयोगको निर्देशनअनुसार यसपटक प्रचार अभियानमा केवल कालो–सेतो ब्यानर र पोस्टर मात्र प्रयोग गरिएको छ भने उम्मेदवारहरूले पोस्टरहरू सिधै पर्खालमा टाँस्न नपाउने नियमका कारण डोरीको सहायताले झुण्ड्याएको देखिएको छ। देशका ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको हो। एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित गरिएको छ। 
कुल १२ करोड ७७ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। मतदान सुरु हुनुअघि नै बंगलादेशको राजनीतिक वृत्तमा अर्को विषयले चर्चा पाएको छ। विश्व बैंकले चुनावभन्दा केही घण्टा अघि ढाकाका लागि ३७ करोड अमेरिकी डलर (करिब ३३.५ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग घोषणा गरेको छ। 
उक्त रकम ढाकाका प्रदूषित नदी तथा नाला सफा गर्न, ढल व्यवस्थापन सुधार गर्न र फोहोर व्यवस्थापन सुदृढ गर्न प्रयोग गरिने बताइएको छ। मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् भने चुनाव परिणामले बंगलादेशको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार