भद्रपुरले जित्यो इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि
झापाको भद्रपुरमा पहिलोपटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ ।बिहीबार सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै भद्रपुरले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद ३ लाख प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए ।
भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा उल्लेख्य दर्शकका माझ दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको हो ।
टस जितेर भद्रपुरले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको आसामको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा टिमको स्कोर ५ रन हुँदा गोकुल शर्मालाई गुमाएको आसाम त्यसपछि खेलमा उल्लेखनीय ढंगले फर्किन सकेन र लगातार अन्तरालमा विकेट गुमाउँदै १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो । आसामका तर्फबाट रोहित सेनले १५ बलमा सर्वाधिक २४ रन बनाए भने कप्तान निबिर डेकाले १५ रन र मो. हबिबुल्लाहले व्यक्तिगत १२ रन बनाउनेबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।आसामलाई सस्तैमा समेट्न भद्रपुरका तर्फबाट भुवन कार्की र विपिनकुमार महतोले समान ३–३ विकेट लिए भने सिद्धार्थ कुमाल, दीपक बोहोरा र दिनेश अधिकारीको खातामा १–१ विकेट पर्यो ।
जवाफमा भद्रपुरको पनि ब्याटिङ सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरको पहिलो बलमै दीपक बोहोरालाई व्यक्तिगत १ रनमा गुमाएको भद्रपुरको पनि लगातार अन्तरालमा विकेट झर्दै ३० रन हुँदा ५ विकेट झरिसकेको थियो । त्यसपछि भुवन कार्की र मुहमद आदिल आलमले पारीलाई सम्हाल्दै ७७ रनसम्म पुर्याए । ७७ रनमा आदिलको विकेट पतन भयो । उनले सर्वाधिक ३९ रनको योगदान दिए । अन्त्यमा भुवन कार्की र श्रवण यादवले नटआउट रहँदै टिमलाई जीत दिलाए । बलिङमा आसामका तर्फबाट गोकुल शर्मा र प्राञ्जल भारालीले समान २–२ विकेट लिए भने तपनकुमार शर्मा र अनुप सोनारले १–१ विकेट लिए ।
खेलको म्यान अफ द म्याच विजेता टिमका भुवन कार्की भए । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा वेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र वेस्ट ब्याटर लखनउका रमन कादयान भए । उनीहरूले नगद २५ हजार पुरस्कार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले ५१ हजार नगद प्राप्त गरेको आयोजक क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।