२०८३ बैशाख ३ गते , विहीबार

बंगलादेशको आम निर्वाचनमा बीएनपीलाई भारी बहुमत

sajilo news
एजेन्सी
२०८२ फाल्गुन १ गते , शुक्रबार
बंगलादेशको आम निर्वाचनमा बीएनपीलाई भारी बहुमत

बंगलादेशमा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी बीएनपी भारी बहुमतसहित जितको नजिक पुगेको छ।  सन् २०२४ को चर्चित विद्यार्थी आन्दोलन र शेख हसिनाको १५ वर्षे शासनको अन्त्यपछि हिजो भएको पहिलो संसदीय निर्वाचनको प्रारम्भिक नतिजाअनुसार तारिक रहमान नेतृत्वको बीएनपीले स्पष्ट अग्रता कायम गरेको हो। 

३०० सदस्यीय संसद्मा सरकार बनाउन १५१ सिट आवश्यक पर्नेमा, बीएनपीले २०० भन्दा बढी सिटमा जित हासिल गर्ने देखिएको छ। निर्वाचनमा बीएनपीका अध्यक्ष रहमानले आफ्नै गृहजिल्ला बोगुराबाट भारी मतका साथ जित सुनिश्चित गरेका छन्। 

निर्वाचनसँगै मुलुकको संवैधानिक सुधारका लागि जुलाई नेशनल चार्टर सम्बन्धी जनमत संग्रह पनि सँगै गरिएको थियो। बीएनपीका वरिष्ठ नेताहरूले यो विजयलाई बंगलादेशी जनताको प्रजातन्त्रप्रतिको भरोसा र युवाहरूको सपनाको जित भनेका छन्। 

अवामी लिग पार्टी सहभागी नभएको जमात–ए–इस्लामी ५० भन्दा बढी सिटसहित दोस्रो स्थानमा रहने देखिएको छ। निर्वाचन आयोगले आधिकारिक नतिजा घोषणाको तयारी गरिरहँदा बीएनपीले आफ्ना कार्यकर्ताहरूलाई विजय जुलुस नगरी शान्ति कायम राख्न र प्रार्थना गर्न आह्वान गरेको छ। यस ऐतिहासिक जितसँगै झण्डै दुई दशकपछि बीएनपीले बंगलादेशको सत्ता सम्हाल्ने निश्चित देखिएको छ।

सम्बन्धित समाचार