आयोजकलाई टाइब्रेकरमा हराउँदै सशस्त्रको एसपीएफ झापा गोल्डकपको फाइनलमा
बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपिएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए ।
झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर नविन लामाले ६७ औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट बञ्चित भएको थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।
एपिएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुनेछ ।