२०८३ बैशाख ३ गते , विहीबार

सशस्त्र प्रहरीद्वारा पिस्तोल, गोली र ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

sajilo news
सुनसरी
२०८२ फाल्गुन १ गते , शुक्रबार
सशस्त्र प्रहरीद्वारा पिस्तोल, गोली र ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले पिस्तोल, गोली तथा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बेला गाउँ पञ्चायत–४ बस्ने वर्ष ३६ का राम खेलन पासवान रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ । 

आज साँझ करिब ५:५० बजे समयमा सुनसरीको कोशी गाउँपालिका–३ जमुना सीमा क्षेत्रस्थित चेकपोस्टमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर–५० एजे–४२२९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालक पासवानको शरीरमा लुकाइ राखिएको इटालियन ९ एमएम अटोमेटिक पिस्तोल एक थान, त्यसमा लाग्ने ३ राउन्ड गोली, म्यागेजिन १ थान, करिब १०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा नेपाली र भारतीय रुपैयाँ बरामद गरेको हो ।  बरामद नगदमा नेपाली १० हजार र भारतीय रुपैयाँ ९ हजार ३ सय रहेका छन्। पक्राउ परेका व्यक्ति तथा सामानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा सीमा क्षेत्रमा निगरानी कडा बनाइएको र सुरक्षा व्यवस्थालाई सुदृढ पार्दै नियमित चेकजाँच तीव्र बनाइएकै क्रममा उक्त सफलता हासिल भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालयका सूचना अधिकारी सुधीरजंग थापाले जानकारी दिए । 

सम्बन्धित समाचार