२०८३ बैशाख ३ गते , विहीबार

निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढेपछि झापा प्रशासनले बढायो निगरानी

sajilo news
पार्थ मण्डल
२०८२ फाल्गुन १ गते , शुक्रबार
निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढेपछि झापा प्रशासनले बढायो निगरानी

झापा । हेभिवेट उम्मेदवारले भरिभराउ झापा जिल्लामा निर्वाचन आचारसंहिता उल्लघंनका घटनाहरु बढेसँगै त्यसको निगरानी तथा रोकथाम गर्न प्रहरी, प्रशासन कडाईका साथ लागि परेको जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापा, नेपाल पत्रकार महासंघ झापा र संवाद समूहले शुक्रबार झापाको भद्रपुरमा आयोजना गरेको निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा बारे सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले विशेष गरी झापा ५ मा निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढी देखिएकोले त्यसको रोकथाममा प्रहरी, प्रशासन कडाइका साथ लागि परेको बताएका छन् । 

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा रोक लगाएको अवस्थामा त्यसको उल्लघंन भएपछि उम्मेदवार तथा दलका नेताहरूलाई बोलाएर वा फोनमार्फत निर्देशन दिएको र विशेष गरी झापा ५ मा मिडियाहरूबाटै आचारसंहिता उल्लघंन भएपछि त्यसको रोकथाम आन्तरिक रूपमै गरिरहेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत रहेका सप्रजिअ प्रसाईँले बताए । 

आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म सभा, जुलुस, सञ्चार माध्यमबाट प्रचार प्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउने समय तोकेको छ । त्यस अवधिमा पनि आचारसंहिताका व्यापक उल्लघंन हुन सक्छ । 

‘उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा भेला वा प्रचार प्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ, सप्रजिअ प्रसाईँले भने, ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न र बालबालिकाको प्रयोग गर्न पाइँदैन ।’ 

उम्मेदवारले जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनु पर्ने हुन्छ । प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाइने उनले बताए । 

घरदैलो कार्यक्रम गर्दा उम्मेदवार प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस बाजागाजा तथा  झाँकीसहित जान नहुने, कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न नपाउने उनको भनाई छ । ‘उम्मेदवारले प्रचारप्रसारको १५ दिनको समयावधिमा त्यस्तो गरेको पाइएमा निर्वाचन आचारसंहिता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने । 

त्यस्तै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपाले जानकारी दिए । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन आयोगले यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सोही अनुरूप जिल्लाका १३१ वटा वडामा यो कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । साथै मतदान स्थल तथा केन्द्रमा खटाइने कर्मचारीको विवरण, मतदानका सामग्री संकलन लगायतको कामहरू धमाधम भइरहेको उनको भनाई छ । 

त्यसैगरी जिल्लामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिता लागू गराउनुका साथै एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गराउने झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । 

झापामा २८५ वटा मतदान स्थल र ८१५ वटा मतदान केन्द्र रहेका छन् । सुरक्षाको दृष्टिकोणले ९५ वटा अति संवेदनशील, १४७ संवेदनशील र ४३ वटा मतदान स्थल सामान्य रहेको प्रजिअ गेलालले बताए । जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेका छन् । कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले आआफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार