२०८३ बैशाख ३ गते , विहीबार

आज वेस्ट इन्डिजविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

sajilo news
झापा
२०८२ फाल्गुन ३ गते , आईतबार
आज वेस्ट इन्डिजविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

नेपालले आईसीसी टि-ट्वान्टी विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेल आइतबार वेस्ट इन्डिजसँग खेल्दै छ। पहिलो दुई खेलमा हार बेहोरेपछि नेपाललाई सुपर–८ मा पुग्ने सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नै पर्ने दबाब छ। मुम्बईस्थित वानखेडे क्रिकेट स्टेडियम मा नेपाली समयअनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ।

विश्वकप इतिहासमा सन् २०१४ यता कुनै खेल जित्न नसकेको नेपालले यस संस्करणको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रन तथा दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोरेको थियो। इटालीसँगको अप्रत्याशित फराकिलो हारपछि नेपाल तेस्रो खेलमा सुधारिएको प्रदर्शनको खोजीमा छ। बाँकी दुई खेलमा फराकिलो जित निकाल्न सके सुपर–८ को सम्भावना अंकगणितीय रूपमा कायम रहनेछ।

नेपालका प्रशिक्षक स्टुअर्ट लले इटालीविरुद्धको खेललाई ‘एकदमै नराम्रो’ भएको स्वीकार गरे। ‘इङ्ल्यान्ड र इटालीसँगको खेल एकदमै फरक भयो। हामीले त्यसपछि टिममा राम्रो कुराकानी गर्यौं। अब वेस्ट इन्डिजसँग कुनै गल्ती गर्ने छुट हुने छैन,’ उनले भने। उनका अनुसार इङ्ल्यान्डसँग प्रतिस्पर्धात्मक खेलपछि खेलाडीमा आवश्यकताभन्दा बढी आत्मविश्वास जागेको र इटालीलाई सहज रूपमा लिँदा हार व्यहोर्नुपरेको हो। ‘इटालीले आफ्नो टिममा राम्रा खेलाडी छन् भन्ने प्रमाणित गरिदियो,’ उनले थपे।

अभ्यासका क्रममा प्रशिक्षक ल वेस्ट इन्डिजसँग खेलिने पिच निरीक्षण गर्न पुगेका थिए। पिचबारे उनले भने, ‘पहिला खेलेको पिच र अहिलेको पिच उस्तै छ, खासै फरक छैन।’ उनले नतिजाभन्दा पनि टोलीको प्रदर्शनमा ध्यान केन्द्रित हुने बताए। ‘वेस्ट इन्डिजविरुद्ध ‘अन एन्ड अफ द फिल्ड इफोर्ट’ आवश्यक हुन्छ,’ उनको भनाइ छ।

यूएईमा भएको टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई नजिकबाट नियालेका वेस्ट इन्डिजका बायाँहाते स्पिनर अकेल होसेनले प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘हामी यहाँ विश्वकप जित्न आएका हौं। जित्न हरेक टोलीलाई हराउनै पर्छ। यहाँ कोही सानो वा ठूलो टिम हुँदैन, जुन दिन जसले राम्रो खेल्छ उसैले जित्छ।’

सामाजिक सञ्जालको त्रास
प्रशिक्षक लका अनुसार सामाजिक सञ्जालले पनि खेलाडीको प्रदर्शनमा प्रभाव पारेको छ। ‘इङ्ल्यान्डसँगको खेलपछि खेलाडीहरूले सामाजिक सञ्जालमा धेरै प्रशंसा देखे। नेपाली संस्कारमा यसको ठूलो महत्व छ, तर कहिलेकाहीँ यो ध्यान भंग गर्ने माध्यम बन्छ,’ उनले भने।

उनले खेलाडीहरू प्रशंसामा अल्झिएर खेलमा भएका कमजोरी बिर्सने प्रवृत्ति देखिएको बताए। ‘हामीले राम्रो खेल्यौं होला, तर अन्ततः खेल हारेका हौं। राम्रो क्रिकेट खेल्यौं भने लोकप्रियता आफैं बढ्छ भन्ने बुझाउनु कठिन छ,’ उनले थपे।

आफू सामाजिक सञ्जालमा सक्रिय नरहेको उल्लेख गर्दै उनले यसको नकारात्मक पक्षबारे सचेत रहेको बताए। यद्यपि उनले हारको कारण मानसिक दबाब नभएको स्पष्ट पारे। ‘इङ्ल्यान्डसँग पनि दबाबमै खेलेका थियौं। इटालीसँगको हार मानसिक दबाबका कारण होइन,’ उनले भने।

नेपालका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले वेस्ट इन्डिजविरुद्धको खेलमा पूर्ण ध्यान दिनुपर्ने बताए। ‘टेस्ट राष्ट्रलाई हराउने मौका छ। त्यसपछि अंक तालिकाको समीकरणतर्फ जान सक्छौं। आशा छ, बाँकी दुई खेलमा राम्रो नतिजा ल्याउनेछन्,’ उनले भने।

फेरिएको टिमसँग परिचित प्रतिद्वन्द्वी
नेपालले हालसम्म एक मात्र टेस्ट राष्ट्रसँग टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने अवसर पाएको छ, जुन वेस्ट इन्डिजविरुद्ध थियो। यूएईको शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको ऐतिहासिक शृंखलामा नेपालले २–१ को जित दर्ता गरेको थियो।

त्यस शृंखलामा खेलेका दुई खेलाडी मात्रै हालको विश्वकप टोलीमा छन्— अकेल होसेन र जेसन होल्डर। सन् २०२४ मा वेस्ट इन्डिज ‘ए’ सँग त्रिवि क्रिकेट मैदानमा भएको पाँच खेलको शृंखलामा नेपालले पहिलो खेल ४ विकेट र अन्तिम खेल ६ विकेटले जितेको थियो। उक्त ‘ए’ टोलीका कप्तान रोस्टन चेज थिए। जोन्सन चार्लेस, म्याथ्यू फोर्डे र गुडकेश मोती जस्ता खेलाडी नेपालका लागि परिचित अनुहार हुन्। एकदिवसीय फम्र्याटमा दुवै टोलीले सन् २०१८ र २०२३ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका छन्।

हाल विश्वकपमा दुई खेलमा दुई जितसहित वेस्ट इन्डिज अंक तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रन र दोस्रो खेलमा इङ्ल्यान्डलाई ३० रनले हराएको वेस्ट इन्डिज बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित देखिएको छ। इङ्ल्यान्डविरुद्ध सुरुआती दुई विकेट छिट्टै गुमाएपछि गरेको कमब्याकले टोलीको क्षमता झल्काएको थियो। यही लय कायम राख्दै वेस्ट इन्डिज नेपालविरुद्ध जित निकालेर सुपर–८ मा स्थान पक्का गर्न चाहन्छ। ‘हामी विश्वकप जित्न चाहन्छौं भने हरेक खेल जित्नैपर्छ,’ अकेल होसेनले भने ‘हामीले उनीहरूको पछिल्ला खेल हेरेका छौं। उनीहरू एकअर्काबारे राम्रो जानकारी राख्छन्। कसरी खेल्ने भन्ने थाहा छ। त्यसअनुसार नै खेल्नेछौं।’

सम्बन्धित समाचार