पाकिस्तानलाई हराउँदै भारत ‘सुपर एट’ मा
भारतले ट्वान्टी–२० विश्वकपमा आइतबार पाकिस्तानलाई सजिलै ६१ रनले पराजित गरेको छ। जितका लागि १ सय ७६ रन पछ्याएको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनायो।
पाकिस्तानका लागि एकै ब्याटरले मात्र राम्रो प्रदर्शन गर्न सके र उनी थिए, उसमान खान। उनले ३६ बलमा ६ चौका र १ छक्काको मदतले ४४ रन बनाए। सादब खानले १४ रन जोडे। अन्त्यतिर साहिन अफ्रिदीले २३ रन थपे।
भारतीय बलरमध्ये हार्द्धिक पान्ड्यो, जसप्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले दुई दुई विकेट हात पारे। त्यस अगाडि पाकिस्तानले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि भारतले ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।
सुरुमा भारतले ठूलो स्कोर खडा गर्ने स्थिति रहे पनि त्यो मैदानमा पूरा भएन। तर यही स्कोर पाकिस्तानका लागि पछि ठूलो चुनौती साबित भयो । अभिषेक वर्मा शून्यमा आउट भएपछि अर्का ओपनर इसान किसनले ४० बलमा ७७ रन बनाए। उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गरे । उनी आउट भएपछि भारतको रन बनाउने गति सुस्त भएको थियो।
यसक्रममा तिलक वर्माले २५ र कप्तान सूर्यकुमार यादवले ३२ रन बनाए। यस्तै शिवम दुबेले २७ रनको योगदान गरे। पाकिस्तानी बलरमध्ये सइम अयुब सबैभन्दा सफल रहे। उनले २५ रनमा तीन विकेट लिए।
पाकिस्तानलाई हराएको भारतले सुपर ८ चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ। यससँगै टी–२० विश्वकपमा लगाता तेस्रो जितसँगै छ अंक भएको छ। पाकिस्तान तेस्रो स्थानमा झरेको छ। यही समूहमा अमेरिका दोस्रो स्थानमा छ। जितका लागि २ सय लक्ष्य पछ्याउँदै नामिबियाले ६ विकेट गुमाउँदै १ सय ६८ रन मात्र बनाउन सक्यो।