२०८३ बैशाख ३ गते , विहीबार

झापा-५ : एमाले र काँग्रेस छोड्दै बालेनको पक्षमा भोट माग्दै

sajilo news
झापा
२०८२ फाल्गुन ८ गते , शुक्रबार
झापा-५ : एमाले र काँग्रेस छोड्दै बालेनको पक्षमा भोट माग्दै

दमक । रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार भएर आएपछि नेकपा एमाले र नेपाली काँग्रेसका एक दर्जन बढी अगुवा युवा तथा नेताहरूले पार्टी परित्याग गरेर बालेन जिताऊ अभियानमा लागेका छन् । काँग्रेसका प्रकाश प्रसाईँ र एमालेका सन्तोष दुलाल लगायतका युवा नेताहरु बालेन जिताउन लागेपछि अहिले एमाले र काँग्रेसका उम्मेदवार र ती दलका नेताका लागि मुख्य टाउको दुखाई बनेको छ । मुख्य गरी झापा ५ का नेकपा एमालेका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका नेता कार्यकर्तालाई यो विषयले अझै धेरै सताएको छ । 

कसैले स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहसँग फोटो खिचेर पार्टी छोडेका छन् भने धेरैले फेसबुकमा लेखेर खुल्ला रुपमा राजीनामा दिँदै बालेन्द्र र परिवर्तनलाई सहयोग गर्ने घोषणा गरेका छन् । काँग्रेस र एमाले परित्याग गरी बालेनलाई सहयोग गर्ने नेता कार्यकर्ताहरू दैनिक जसो बढिरहेका छन् । आफ्नै दलका युवा नेताहरु र काँग्रेस स्थानीय अगुवा नेताहरु बालेनको पक्षमा खुलेर लागेपछि त्यसको सबैभन्दा ठुलो क्षति एमाले उम्मेदवार तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुग्ने देखिएको छ । बालेनको पक्षमा आफ्नै नेता कार्यकर्ता खुलेर लागेको देखेपछि पछिल्लो समय ओली आफै तल्लो तहसम्म पुगेर वस्तुस्थिति बुझ्न र भोट माग्न सक्रिय छन् । 

बालेनलाई झापा ५ मा उम्मेदवार ल्याउन र उम्मेदवार मनोनयनदेखि अहिले निर्वाचनमा जिताउन खुल्ला रुपमा सक्रिय हुनेहरू नै काँग्रेस र एमालेका युवा नेताहरु धेरै छन् । एमालेका युवा नेता दुलाल बालेनलाई झापा ५ मा उम्मेदवार बनाउन सक्रिय हुने अगुवा भएका युवामध्ये एक हुन् । त्यस्तै माघ ६ गते उम्मेदवार मनोनयनकै दिन काँग्रेस दमक नगर सभापति प्रसाईँ पार्टी परित्याग गरेर बालेनसंगै उम्मेदवार दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । 

 प्रसाईँ ५ नम्बर निर्वाचन क्षेत्रकै काँग्रेसका मुख्य ३/४ नेतामध्ये एक मानिन्छन् । ३ कार्यकाल दमक उद्योग वाणिज्य संघको अध्यक्ष भएका प्रसाईँ राजनीतिक र ब्यावसायीहरु माझ हुने जुनसुकै निर्वाचनमा मुख्य अगुवा नेता मानिन्छन् । प्रसाईँकी श्रीमती रेगिना भट्टराई प्रसाईँ दमक नगरपालिकामा काँग्रेस तर्फबाट निर्वाचित उपमेयर हुन् ।       

प्रसाईँ स्वतन्त्र पार्टीका उम्मेदवार बालेनको साथ लागेपछि काँग्रेस धेरै नेता कार्यकर्ता पार्टी परित्याग गरेर उनकै सिको गर्दैछन् । काँग्रेसका कमल गाउँपालिका समितिका सचिव महेन्द्र बुढाथोकी, ५ नम्बर क्षेत्रीय समितिका सदस्य तथा मारवाडी सेवा समिति दमकका पूर्व अध्यक्ष तथा व्यवसायी दिनेश अग्रवाल, काँग्रेसका सदस्य तथा व्यवसायी सोम खनालले पार्टी परित्याग गरी बालेनलाई सहयोग गर्न सक्रिय छन् । काँग्रेसका जिल्ला सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की पनि पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । 

 त्यस्तै सन्तोष दुलालसँगै एमाले परित्याग गरेर बालेनको पक्षमा लागेपछि अहिलेसम्म एक दर्जन जति एमालेका झापा ५ का मतदाता रहेका स्थानीयदेखि केन्द्रीय नेताहरूले समेत पार्टी परित्याग गरेका छन् । ०५७ सालदेखि पार्टीको विभिन्न तहमा काम गरेका र हाल एमालेको युवा विद्यार्थी विशेष काठमाडौँका सल्लाहकार सचिव राजेश प्रसाईँ र झापा जिल्ला सदस्य योगेश उप्रेतीले पनि पार्टी परित्याग गरेर बालेनलाई सहयोग गर्न सक्रिय छन् । एमालेका झापा ५ का क्षेत्रीय उपसचिव तथा युवा व्यवसायी महेन्द्र खड्का, दमक नगर सदस्य तथा स्वास्थ्यकर्मी चन्द्र थापा, युवा नेता महेश घिमिरे, अर्जुन मैनालीले एमाले छोडेर बालेन र स्वतन्त्र पार्टीमा सक्रिय छन् । 

उम्मेदवार मनोनयन गरेकै दिन बेलुका एमालेको युवा संघ दमकका अध्यक्ष छवि खतिवडा, उपाध्यक्ष विजय तामाङ र सचिव कमल गैरेले एकसाथ राजीनामा दिएर बालेनको पक्षमा लागेको घोषणा गरेपछि युवा संघ नै पुनर्गठन गर्नुपरेको थियो । पछि पार्टीको दबाब थाम्न नसकेर सचिव गैरेले राजीनामा फिर्ता लिएका थिए । त्यसपछि झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघको दमक अध्यक्षसहितको नयाँ टिमलाई शपथ गराएका थिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका युवा नेता डेभिड शाहीले पनि पार्टीबाट राजीनामा दिएर बालेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । शाही वाइसिएलका झापा र झापा क्षेत्र नं. ५ का अगुवा युवा नेता मानिन्छन् । 

रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले अहिले झापा ५ मा रास्वपाका उम्मेदवार वरिष्ठ नेता बालेनको पक्षमा काँग्रेस एमालेका नेताहरु राजीनामा दिएर खुल्ला रुपमा आउने क्रम बढेको र अझै आन्तरिक रुपमा लाग्ने नेता कार्यकर्ता धेरै भएको दाबी गरे ।  

 

सम्बन्धित समाचार