इन्दिराको १३ बुँदे घोषणापत्र : चार ठाउँलाई वैज्ञानिक शहर बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरले शहरी विकास योजनाअन्तर्गत बिर्तामोड, अर्जुनधारा, सुरुङ्गा र बुधबारेलाई वैज्ञानिक शहर बनाउने घोषणा गरेकी छन् ।
झापा २ मा रास्वपाका उम्मेदवार मगरले १३ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गर्दै बिर्तामोड, अर्जुनधारा, सुरुङ्गा र बुधबारेमा वैज्ञानिक सिटी मास्टरप्लान कार्यान्वयन र योजनाबद्ध शहरी विकास गर्ने घोषणा गरेकी हुन् । उनले साइकल लेन, फुटपाथ र हरित क्षेत्र विस्तार गर्ने ,स्मार्ट ट्राफिकको व्यवस्थापन गर्ने उल्लेख गरेकी छन् । बिर्तामोड बसपार्क समाधान गर्न पहल तथा ट्राफिक जाम, तार/पोल र ढल निकासको स्थायी समाधान गर्ने , स्थानीय हाटबजार तथा कृषि चोक बजारको आधुनिकीकरण र विस्थापित पक्षको समस्या समाधान गर्ने र अलपत्र परेका विकास योजना समयमै पूर्णता सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख छ ।
नीतिगत सुधार, पारदर्शिता र जबाफदेहिता,सीमान्तकृत र कमजोर वर्गको आवाज संसद्मा सुनिश्चित र स्थानीय तथा प्रदेश संरचनामा इ–गभर्नेन्सको व्यवस्थापन गर्ने मूल प्रतिबद्धता जनाएकी पूर्व उपसभामुखसमेत रहेकी मगरले मल, बीउ र सिँचाइ समयमै पारदर्शी रुपमा उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्य र बजार ग्यारेन्टी सुनिश्चित गर्ने ,उत्पादनमा आधारित अनुदान, कृषक पहिचान र सरकार–किसान साझेदारी गर्ने ,जैविक खेती र भूगोल अनुसारका बाली प्रवर्धन गर्ने ,चिया, सुपारी कृषकलाई सोझै बजारसम्म जोड्ने, एग्रो टुरिजमको विकास गर्ने ,युवा लक्षित सीपमूलक तालिम, ‘सीप मेला’ स्टार्टअप सहयोग कोषमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने ,वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र लगानी स्वदेशमै उपयोग गर्ने , आरएण्डडी हब स्थापना गरी प्रविधि र नवप्रवर्तनमा आधारित रोजगारी सिर्जना गर्ने ,युवा खेलकुद पूर्वाधार विकास र जेनजीको ऊर्जा उत्पादनमुखी गतिविधिमा रूपान्तरण गर्ने , कृषि, चिया, पर्यटन र साना उद्योगलाई रोजगारीसँग जोड्दै झापा–२ लाई व्यापारिक तथा एग्रो प्रोसेसिङ हबको रुपमा विकास गर्ने ,एसएमइएस र स्टार्टअप उद्योग प्रवर्द्धन, नवप्रवर्तन आधुनिकीकरण र सुरक्षित वितरण प्रणाली लागु गर्ने ,उद्योगी–व्यापारी सुरक्षा, सहकार्य र स्थानीय व्यवसायको दिगो विकासमा जोड दिने उल्लेख छ ।
त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर सुधार र प्रविधिमैत्री शिक्षा विस्तार गर्ने ,शिक्षक–विद्यार्थी अनुपात सन्तुलन तथा कक्षा ६ देखि आवासीय विद्यालयको अवधारणा लागु गर्ने , गरिब, सीमान्तकृत र अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्ति विस्तार गर्ने ,प्राविधिक, मेडिकल र व्यवस्थापन अध्ययनको सम्बन्ध प्रक्रियामा सहजीकरण, शैक्षिक हब क्षेत्रको रुपमा विकास गर्ने ,सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने , प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण तथा रोग पहिचान प्रणालीको विकास गर्ने ,सरकारी अस्पतालमा डी एडिक्सन ओपीडी / जेनेरिक औषधिको उपलब्धता गराउने ,वृद्ध, एकल महिला, अपाङ्गता भएका तथा विपन्न वर्गका लागि विशेष स्वास्थ्य सुरक्षा प्रदान गर्ने , अर्जुनधारा क्षेत्रका वन तथा नदीजन्य स्रोतको दोहन नियन्त्रण गरी दिगो उपयोग र संरक्षण गर्ने ,रिसाइक्लिङ प्लान्ट तथा वेस्ट एन्ड वाटर मेनेजमेन्ट सम्बन्धी कानुनी व्यवस्था सुदृढ गर्ने ,नदी र बन क्षेत्रलाई एन्टी डम्पिङ जोन घोषणा गर्ने ,वृक्षारोपण, ग्रीन एनर्जी ग्राउण्ड वाटर रिचार्जका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ,अर्जुनधारा, विराट पोखरीलगायत धार्मिक स्थलको संरक्षण र आध्यात्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्ने ,सम्भावित पर्यटन क्षेत्रको पहिचान गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ,
झापा–२ लाई धार्मिक पर्यटन, उद्योग र शिक्षासँग जोडिएको एकीकृत विकास मोडलमा रूपान्तरण गर्ने ,आदिवासी, जनजाति तथा सीमान्तकृत वर्गको उत्थानका लागि भाषा तथा संस्कृति संरक्षण कोष स्थापना र मातृभाषा शिक्षाको प्रवर्द्धन गर्ने ,हस्तकला, पारम्परिक कृषि र सीप विकासमार्फत आयआर्जन तथा बजार प्रवर्द्धन गर्ने ,जनजाति तथा सीमान्तकृत वर्गका लागि मेडिकल र इन्जिनियरिङ शिक्षामा छात्रवृत्ति व्यवस्था गर्ने , महिला नेतृत्व, सुरक्षा र आर्थिक सशक्तीकरणमा प्राथमिकता दिने , स्तन तथा पाठेघर क्यान्सरको रोकथाम र दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्था गर्ने , बाल श्रम र बालविवाहविरुद्ध शून्य सहनशीलता तथा जीइएसआई सिद्धान्तको पूर्ण कार्यान्वयन गर्ने , अटिजम तथा अपाङ्गता भएका बालबालिकाको लागि विशेष शैक्षिक कार्यक्रमको व्यवस्था गर्ने , भूमिहीन र आवास अधिकारअन्तर्गत योजनाबद्ध सुरक्षित आवास विकास गर्ने ,सहुलियत ऋण, अनुदान र पुनर्वासको व्यवस्था गर्ने ,आधारभूत पूर्वाधारसहित आवासीय क्षेत्र निर्माण गर्ने ,भूमिहीनहरूको समस्या वैज्ञानिक रुपमा अध्ययन र समाधान गर्ने ,. विपद् तथा हात्ती–मानव द्वन्द्व एलिफेन्ट मेनेजमेन्ट मास्टरप्लान कार्यान्वयन गर्ने ,छिटो मुआब्जा, बाली बीमा, सोलर फेसिङ र पूर्वचेतावनी प्रणाली स्थापना गर्ने ,
सामुदायिक स्वयंसेवक समूह र सीमावर्ती क्षेत्रसँग समन्वय र संवाद गर्ने ,नदी कटान रोकथाम र तटबन्धसम्बन्धी कार्यान्वयन गर्ने , साझेदारी र सुशासनअन्तर्गत उद्योगी, व्यापारी, सामाजिक संस्था र सरकारसँग सहकार्य गरी विकास योजना निर्माण गर्ने , जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद र सहज समन्वय प्रणाली स्थापना गर्ने , रात्रिकालीन बजार सुधार, स्थानीय बजेट व्यवस्थापन र दर्ताप्रणालीमा पारदर्शिता सुनिश्चित गर्ने र उद्योगी–व्यापारी सुरक्षा र दिगो व्यवसाय प्रवर्द्धन गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।