काँग्रेस झापाले गर्यो २ जिल्ला सदस्य र ३ क्षेत्रीय प्रतिनिधिलाई पार्टीबाट निष्कासन
नेपाली काँग्रेस झापाले २ जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठकले निष्कासनको कारबाही गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति देउकुमार थेबेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईँले आज एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जानकारी दिएका छन् ।
पार्टीका जिल्ला सदस्यहरू ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति), क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कनकाई), टेकनारायण सङ्ग्रौला (कनकाई), दिपिन्द्र थापा (गौरीगञ्ज) लाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा जिल्ला सदस्यद्वयसहित क्षेत्रीय प्रतिनिधिहरूले केही समय अघिदेखि पार्टी हित विपरीत गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएका उम्मेदवारका विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि निष्कासनको कारबाही गरिएको जनाइएको छ । कारबाही गरिएका उनीहरू निर्वाचनअघि नै पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गइसकेका छन् ।