कतार पेट्रोलियम प्लान्टमा इरानको मिसाइल प्रहार, ऊर्जा आपूर्तिमा थप संकट
पश्चिम एसियामा जारी युद्धका कारण विश्वकै ठुलो प्राकृतिक ग्यास भण्डार र ऊर्जा पूर्वाधारहरूमा भीषण क्षति पुगेको छ। इरानको साउथ पार्स ग्यास क्षेत्रमा इजरायली आक्रमण भएपछि इरानले कतारको सरकारी स्वामित्वको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ। कतार पेट्रोलियमले आफ्नो प्लान्टमा व्यापक क्षति भएको पुष्टि गरेसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा संकट चुलिएको छ।
यसैबिच, इरानका गुप्तचर मन्त्री इस्माइल खतिबको हवाई आक्रमणमा मृत्यु भएको इरानी राष्ट्रपतिले पुष्टि गरेका छन्। मन्त्री खतिबको मृत्यु र ऊर्जा केन्द्रहरूमा भइरहेका श्रृंखलाबद्ध आक्रमणले युद्धलाई थप अनियन्त्रित बनाएको छ।
इरान र उसका सहयोगी समूहहरूले अहिले दुबई, कतार, कुवेत, इराक र साउदी अरबका विभिन्न स्थानमा ड्रोन र मिसाइल प्रहार गरिरहेका छन्। इजरायलको वेस्ट बैंकमा मिसाइलका टुक्राहरू एक ब्युटी पार्लरमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ।
इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहविरुद्धको सैन्य कारबाहीलाई अझ तीव्र बनाएको छ। ऊर्जा केन्द्रहरू नै निशानामा परेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएको छ भने खाडी क्षेत्रका प्रमुख सहरहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।