२०८३ बैशाख ३ गते , विहीबार

ओली र लेखकलाई पक्राउ गरेको विरोधमा प्रदर्शन, एमाले झापाले बुझाए विरोध पत्र 

sajilo news
झापा
२०८२ चैत्र १५ गते , आईतबार
ओली र लेखकलाई पक्राउ गरेको विरोधमा प्रदर्शन, एमाले झापाले बुझाए विरोध पत्र 

सरकारले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको विरोधमा एमाले झापाले आज जिल्लाको सदरमुकाम भद्रपुरमा विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइको माग गर्दै  एमाले नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाएका छन् ।

भद्रपुरस्थित ट्रेड युनियन चोकमा भेला भई निकालिएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालयमा पुगेर एमालेका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो विरोध पत्र बुझाएका हुन् । ओलीको गिरफ्तारीविरुद्ध आज देशभरका पार्टी जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने एमालेले केन्द्रीय कमिटीले निर्णय गरेको थियो ।सोही अनुसार विरोध पत्र बुझाएको एमाले जिल्ला कमिटी झापाले जनाएको छ । पार्टी अध्यक्ष ओली र लेखकको गिरफ्तारीलाई लिएर पार्टी सम्बद्ध झापाका २३ वटा जनसङ्गठनहरूले संयुक्त रुपमा विज्ञप्ति निकालेर गम्भीर आपत्ति जनाएका छन् ।

बालेन नेतृत्वको सरकारले सत्ता सम्हालेको २४ घण्टा नबित्दै गरिएको यो कदमलाई जनसङ्गठनहरूले  ‘पूर्वाग्रहप्रेरित र प्रतिशोधपूर्ण’ ठहर गरेको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनपछिका घटनाक्रम, निर्वाचनको परिणाम र वर्तमान सरकारको कदमलाई एउटा ठूलो राजनीतिक षड्यन्त्रको कडीका रूपमा जनसंगठनले व्याख्या गरेको छ । एमाले झापाले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आइरहेको छ । 

 

 

 

सम्बन्धित समाचार