जवरजस्ती करणीका आरोपी बिर्तामोडका व्यवसायी मित्तललाई ५ दिन थुना राख्न अनुमति
जवरजस्ती करणी उद्योग कसूरमा पक्राउ परेका झापा बिर्तामोडका व्यवसायी प्रदिप मित्तललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी उद्योग कसूरमा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मित्तललाई आज बिहान इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो । पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिए लगतै उनी फरार भएका थिए । उनको खोजतलास जारी रहेकोमा उनी आज बिहान १०ः१५ बजे आफै इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएको जनाइएको छ ।
व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगति टोलमा सात बिगाहा जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर ९प्लाई० उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटलसमेत निर्माण सुरु गरेका छन् । सोही भेनियर उद्योगमा काम गर्ने मेचीनगर १४ की महिलाकी २३ वर्षीया छोरीलाई गत चैत ३ गते दिउँसो १ः१५ बजे मित्तलले घरमै गएर यौनजन्य हिंसा गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । प्रहरीले पीडितको युवतीको स्वास्थ्य परीक्षण गराइसकेको जनाइएको छ । ती युवतीले आफूमाथि मित्तलले गरेको यौन दुर्व्यवहार र पैसा सहितको प्रलोभन देखाएको भिडियो कैद गरेको र त्यसको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।