हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो, पेट्रोल, डिजेल र ग्यास पनि बढ्ने
हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।
मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साबिक १२७ प्रतिलिटर रहेकोमा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा यसअघि प्रति किलोमिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।
यस्तै पोखरामा यसअघि प्रति किलोमिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्याइएको छ । भैरहवामा यसअघि प्रति किलोमिटर ७८९ डलरमा कारोबार भइरहेको थियो । विगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ।
आज अप्रिल १ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर रु.४१.६०. डिजलमा प्रतिलिटर रु.९४.९३ तथा हवाई इन्धनमा प्रतिलिटर रु.१२३.८ र एल.पी. ग्यासमा प्रतिसिलिण्डर रु.१९०.३६ ले वृद्धि भएर आएको छ। पछिल्लो पटक निगमले मार्च २५, २०२६ मा विक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु.१५ र डिजलमा प्रतिलिटर रु.१५ मात्र समायोजन गरेको थियो।
तथापि, १६ मार्चमा आएको खरिद मूल्य अनुसार समायोजन हुन नसक्दा प्रतिलिटर पेट्रोलमा ४७.१२. प्रतिलिटर डिजेलमा रु.१३३.४५ तथा एल.पी. ग्यासमा रु.४१६.३७ प्रतिसिलिण्डर घाटा हुने देखिन्छ । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिक रुपमा निगमलाई रु. १३ अर्ब २१ करोड घाटा हुने देखिन्छ ।
इण्डियन आयल कर्पोरेशनवाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने देखिएको निगमले जनाएको छ ।