२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा ब्राउन सुगरसहित ६ जना पक्राउ

sajilo news
झापा
२०८२ चैत्र १८ गते , बुधबार
भद्रपुरमा ब्राउन सुगरसहित ६ जना पक्राउ

फोटो एआइबाट

झापाको भद्रपुर नगरपालिका-५ स्थित नरसिङ बगान क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्। मंगलबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक निर्मल श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई छुट्टाछुट्टै सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। 

दिउँसो करिब ३ बजेको समयमा प्र १–०१–०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ बस्ने अन्दाजी ३९ वर्षीय सन्तोष लिम्बु, पछाडि सवार भद्रपुर–१० बस्ने २४ वर्षीय ओम नारायण मण्डल र अर्जुनधारा–११ बस्ने २६ वर्षीय पूजन कुमार खनाललाई शङ्का लागि जाँच गर्दा उनीहरूको साथबाट प्लास्टिक बाहेक ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

 त्यस्तै सोही दिन साँझ करिब साढे ६ बजेको समयमा मे ४ प ८२७४ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका- ९ बस्ने अन्दाजी २८ वर्षीय रेसल खड्का, पछाडि सवार भद्रपुर-८ चन्द्रगढी बस्ने २३ वर्षीय सन्दीप राजवंशी र २१ वर्षीय प्रवीण राईलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्लास्टिक बाहेक ३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

 

सम्बन्धित समाचार