सुनसरीको मालपोत र यातायातबाट १८ जना बिचौलिया पक्राउ
सुनसरीको इनरुवास्थित मालपोत कार्यालय र इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा छापा मार्दै जिल्ला प्रशासन कार्यालयले १८ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीलाई दुःख दिने तथा अवैधरूपमा आर्थिक लाभ लिने गरेको गुनासोका आधारमा बुधबार छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले मालपोत कार्यालयभित्र आर्थिक अनियमितता हुने र लेखापढी व्यवसायीहरू नै बिचौलियाको रूपमा सक्रिय भई सेवाग्राहीलाई सास्ती दिने गुनासो बढेपछि छापा मारिएको बताए। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको उनको भनाइ छ।
मालपोत कार्यालयबाट पक्राउ परेका १३ जनालाई हालः जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइसकिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी दोषी ठहरिए कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरू मालपोत कार्यालयअगाडि लेखापढी सेन्टर सञ्चालन गर्दै आएका व्यवसायीहरू रहेका छन्।
पछिल्लो समय मालपोत कार्यालयमा बिचौलियाको सक्रियताका कारण सेवाग्राहीले अनावश्यक सास्ती भोग्नु परेको गुनासो बढ्दै आएको थियो। सेवा लिन आउने सर्वसाधारणलाई झन्झटमा पार्दै अतिरिक्त रकम असुल्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै प्रशासनले निगरानी बढाएको जनाएको छ।
यसैबीच इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट ५ जना बिचौलियालाई पनि पक्राउ गरिएको छ। कार्यालयभित्र प्रवेश गरी बिचौलियाको काम गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिएका छन्।
सरकार परिवर्तनसँगै स्थानीय प्रशासनले सरकारी कार्यालयमा हुने अवैध गतिविधि नियन्त्रणमा चासो देखाउँदै कडाइ सुरु गरेको छ। आगामी दिनमा यस्ता गतिविधिविरुद्ध थप कडा अनुगमन र कारबाही जारी रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।