भद्रपुरको ९९ सीमा पिलरमा तस्करी मौलायो, प्रहरीद्वारा ७ लाखको इलेक्ट्रोनिक सामान बरामद
भद्रपुर । झापाको भद्रपुर नाकाबाट भन्सार छली गरी ल्याइएका इलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको छ। भद्रपुर नगरपालिका ५ स्थित नेपाल–भारत सीमाको ९९ नम्बर पिलर नजिक राईबस्ती क्षेत्रमा प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब सात लाख मूल्य बराबरको इलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याइँदै गरेको ४० पिस इलेक्ट्रिक ब्रस, ५९ पिस स्मार्ट घडी, ३ पिस अलार्म डक स्टेसन र ५ पत्ता कभर बरामद गरेको हो । इलेक्ट्रिक ब्रस डेन्टलमा प्रयोग गरिने सामग्री रहेको जनाइएको छ ।
बरामद गरिएका सामान सीमा पिलर नजिकै लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो । सो नाकाबाट कामती समूहले तस्करी धन्दा चलाउँदै आइरहेको छ । विगतमा पनि सो नाकाबाट भित्रिएको लाखौँ मूल्य बराबरको सामान प्रहरीले पटक -पटक बरामद गरिसकेको छ । तर, तस्करी धन्दा अझै रोकिएको छैन । सो नाका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र गुल्म भद्रपुरको बीचमा पर्छ । नेपाल प्रहरीले सामान बरामद गरेपछि सशस्त्रमाथि प्रश्न चिन्ह खडा भएको छ । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइने प्रहरी कार्यालय झापाले जनाएको छ ।