मेची पुलमा ब्राउन सुगरसहित तीन जना पक्राउ
झापा । भद्रपुर नगरपालिका–५ स्थित सीमा नाका मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज अपराह्न करिब ४ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ८७ प ३७६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–२ बस्ने अन्दाजी २३ वर्षीय राजीव कुमार राजवंशीको साथबाट ३ ग्राम २६० मिलिग्राम र पछाडि सवार हल्दिबारी–१ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद गौतमको साथबाट २ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।
त्यस्तै आज साँझ करिब ६ ५५ बजे मेची पुलमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेका अन्दाजी १८ वर्षीय अमर कुमारलाई चेकजाँच गर्दा नाकभित्र लुकाएर ल्याइएको ब्राउन सुगर बरामद गरिएको छ। प्लास्टिक बाहेक २ ग्राम ५५० मिलिग्राम उनको साथबाट फेला परेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।