एसइई परीक्षा : ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै
यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन्। परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्। परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन् ।
उनका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन्।
एक महिनामा नतिजा प्रकाशन गरिने
प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउँदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उनले जानकारी दिए। यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो।
परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिए। यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ। शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा लब्धाङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ।