संघीय संसद् अधिवेशनमा रविदेखि हर्कसम्मले सम्बोधन गर्ने
आज बिहीबारदेखि सुरु हुन लागेको नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएअन्तर्गत रास्वपाबाट लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभामा दोस्रो दलको हैसियतमा रहेको नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ । आङ्देम्बे समानुपातिकतर्फका सांसद हुन् । यसअघि संसद् सचिवालयले कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम टुंगो नलागेको बताएको थियो ।
यस्तै, तेस्रो दल नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ दल श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।