बालबालिकामा अब्स्ट्रक्टिभ स्लिप एपनियाको समस्या, यस्तो छ उपचार विधि
बालबालिकामा OSA (अब्स्ट्रक्टिभ स्लिप एपनिया) नेपालमा धेरै बालबालिकाले राति घुर्ने, मुख खोलेर सुत्ने, नाक बन्द हुने, राम्रोसँग नसुत्ने, दिनमा चिडचिडे हुने वा पढाइमा ध्यान नदिने समस्या भोगिरहेका हुन्छन्। तर यस्ता लक्षणलाई अझै पनि सामान्य रुघाखोकी वा “बच्चा त यस्तै हो” भनेर बेवास्ता गरिन्छ। वास्तवमा यो धेरै कम आँकलन गरिएको स्वास्थ्य समस्या हो। अध्ययनहरूका अनुसार बालबालिकामा OSA को सबैभन्दा सामान्य कारण एडिनोइड र टन्सिल ठूलो हुनु हो।
एडिनोइड र टन्सिल भनेको के हो?
एडिनोइड र टन्सिल शरीरका रक्षा गर्ने मासुका भाग हुन्। कहिलेकाहीँ यी सामान्यभन्दा धेरै ठूलो हुन्छन्। यही असामान्य रूपमा ठूलो हुने अवस्थालाई हाइपरट्रोफी भनिन्छ, जसको सरल अर्थ हो आवश्यकभन्दा बढी ठूलो हुनु। जब एडिनोइड वा टन्सिल धेरै ठूलो हुन्छ, बच्चाको सास फेर्ने बाटो साँघुरो हुन सक्छ, विशेषगरी सुत्दा।
किन यो नेपालमा underestimated problem हो?
नेपालमा धेरै बालबालिकामा यो समस्या समयमै चिन्न सकिँदैन। बच्चा धेरै घुर्छ, नाक बन्द हुन्छ, मुखबाट सास फेर्छ, राति राम्रोसँग सुत्दैन, तर यसलाई सामान्य समस्या ठानेर छोडिन्छ। यसले गर्दा उपचार पनि ढिलो हुन्छ।
OSA का लक्षणहरू
• राति धेरै घुर्नु • मुख खोलेर सुत्नु • नाक बन्द भइरहनु • सुत्दा सास फेर्न गाह्रो देखिनु • पटक–पटक कोल्टे फेर्नु वा अस्थिर निद्रा हुनु • राति पसिना आउनु • बिहान उठ्दा ताजगी नहुनु • दिनमा चिडचिडे हुनु • ध्यान केन्द्रित गर्न गाह्रो हुनु • पढाइ वा व्यवहारमा असर पर्नु • केही बच्चामा लामो समय खोकी लागिरहनु पनि सँगै देखिन सक्छ एडिनोइड ठूलो हुनु किन महत्त्वपूर्ण छ? एडिनोइड ठूलो हुँदा बच्चामा विशेषगरी: • नाक बन्द हुने • नाकबाट सास फेर्न गाह्रो हुने • मुखबाट सास फेर्ने बानी पर्ने • घुर्ने • निद्रा बिग्रिने जस्ता समस्या देखिन सक्छन्। यही कारणले एडिनोइड ठूलो हुनु बालबालिकामा OSA को मुख्य कारण मानिन्छ।
एडिनोइड ठूलो भएको उपचार सुरुमा के हुन्छ ?
हल्का अवस्थाका धेरै बालबालिकामा सुरुमा नाकमा हाल्ने स्टेरोइड औषधि प्रयोग गर्ने विकल्प राम्रो मानिन्छ। अध्ययनहरूले यस्तो औषधिले नाक बन्द हुने समस्या घटाउन, एडिनोइडको असर कम गर्न, र केही बच्चामा निद्राको समस्या सुधार गर्न मद्दत गर्न सक्छ भनेर देखाएका छन्।
किन सुरुमा नै उपचार गर्नुपर्छ ?
यदि एडिनोइड ठूलो भएको कुरा चाँडै पत्ता लाग्यो र समयमै नाकमा हाल्ने स्टेरोइड औषधि सुरु गरियो भने, केही बच्चामा शल्यक्रियासम्म पुग्न नपर्न सक्छ। तर उपचार ढिलो भयो, समस्या धेरै बढ्यो, बच्चामा घुर्ने र सास रोकिने समस्या धेरै भयो, वा औषधिले काम गरेन भने शल्यक्रिया आवश्यक पर्न सक्छ।
शल्यक्रिया कहिले चाहिन सक्छ ?
यदि बच्चामा एडिनोइड र टन्सिल धेरै ठूलो छन्, निद्रामा सास रोकिने समस्या मध्यम वा गम्भीर छ, जीवनस्तर बिग्रिएको छ, वा औषधिले राम्रो सुधार आएन भने शल्यक्रिया उपयुक्त हुन सक्छ। अन्यथा स्वस्थ बालबालिकामा एडिनोइड र टन्सिल ठूलो भएर भएको यस्तो समस्यामा शल्यक्रिया प्रमुख उपचार मानिन्छ।
कहिले तुरुन्त जाँच गराउने ?
यदि बच्चा धेरै घुर्छ, सुत्दा सास रोकिने-जस्तो देखिन्छ, मुख खोलेर सुत्छ, बिहान असामान्य थकान हुन्छ, पढाइ/व्यवहारमा परिवर्तन आएको छ, नाक सधैँ बन्द हुन्छ, वा रातिको समस्या लामो समयदेखि छ भने बालरोग विशेषज्ञ वा ENT विशेषज्ञसँग जाँच गराउनु उपयुक्त हुन्छ। OSA को पुष्टि गर्न केही बच्चामा sleep study (polysomnography) आवश्यक पर्न सक्छ।
सन्देश: बालबालिकामा घुर्नु सधैँ सामान्य हुँदैन। “नाक बन्द छ, खोकी छ, मुख खोलेर सुत्छ” भन्ने गुनासो बारम्बार दोहोरिन्छ भने निद्रामा हुने श्वाससम्बन्धी समस्या पनि विचार गर्नुपर्छ। समयमै पहिचान र उपचारले बच्चाको निद्रा, व्यवहार, सिकाइ, वृद्धि र स्वास्थ्य सबैमा सुधार ल्याउन सक्छ।
लेखक : डा. रविन रेग्मी, बालरोग विशेषज्ञ कनकाई हस्पिटल , बिर्तामोड