भद्रपुर नाका : ब्राउन सुगर ओसारपसारको ट्रान्जिट बन्दैै, १५ दिनमा २५ जना पक्राउ
भद्रपुर । अरूतिर भन्दा सजिलो भएपछि झापाको भद्रपुर नाकाबाट लागूऔषध लिन हुरहुर्ती जान थालेका छन् । लागूऔषध लिन जानेहरूको सङ्ख्या निकै बढेपछि प्रहरीले १५ दिनमा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १२०.९७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
चैत ३ गते भद्रपुर ६ का श्रवण यादव , गणेश राजवंशी र प्रकाश राजवंशी ५०.४३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । सोही दिन भद्रपुर ६ कै शुभम् साह ,जयकरण कहार , दुलाल शेख र मोहम्मद अमिर १०.२ ग्राम ब्राउन सुगरसहित समातिए ।
त्यस्तै चैत १२ गते पक्राउ परेका भारतीय नागरिक मोहम्मद जाविर आलमको साथबाट ५.८९ ग्राम ब्राउन सुगर बरामद भयो भने सोही दिन नै रस्कु मुर्मु, अजय ऋषिदेव र सरोज कार्कीलाई ३.२३ ग्राम तथा दीपेश राजवंशीलाई १.७१ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लियो ।
त्यस्तै चैत १३ गते वेचन यादव २१.८९ ग्राम, चैत १४ गते शिव गिरी ३.६३ ग्राम, सन्दीप उप्रेती ५.४३ ग्राम , चैत १६ गते स्माइल कार्की १.३१ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।
त्यस्तै चैत १७ गते भद्रपुर ८ का सन्दीप राजवंशी , प्रवीण राई र भद्रपुर ९ का रेशल खड्का ३.३६ ग्राम ब्राउन सुगरसहित पक्राउ पर्दा सोही दिन भद्रपुर ९ का होमनारायण राजवंशी,मेचीनगर १२ का सन्तोष लिम्बू र अर्जुनधारा ११ का पूजनकुमार खनाल ५.२७ ग्राम ब्राउन सुगरसहित समातिएका थिए ।
त्यस्तै चैत १८ गते हल्दिवारी २ का राजीव राजवंशी ३.२६ ग्राम,सोही ठाउँका शिवप्रसाद चौलागाँई २.७७ ग्राम र भारतका अमर कुमार २.५९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।
भद्रपुरमा लागूऔषधको अवस्था निकै भयावह बनेको एक प्रहरी अधिकृतले बताएका छन् । भद्रपुर नाकाबाट प्रहरीले प्रत्येक दिन पक्राउ गर्दै आएपनि सङ्ख्या नघटेको ती प्रहरी अधिकृतको भनाई छ । ‘ लागूऔषध लिन हुरहुर्ती जान थालेपछि प्रहरीले सक्रियता बढाएको छ ’ उनले भने,‘ दिनहुँ पक्राउ गर्दा गर्दा हिरासतमा राख्ने ठाउँ नै छैन । ’
प्रहरीले लागूऔषधको कारोबार गर्ने कारोबारीहरूलाई मात्र पक्राउ गर्दै आएको छ । लागूऔषध प्रयोगकर्ताहरूलाई समाउन थाल्यो भने झन् राख्ने ठाउँ नहुने ती प्रहरी अधिकृतले बताए । भद्रपुरको मेची पुल तर्नेवित्तिकै गलगलियामा सजिलै लागूऔषध किन्न पाइन्छ । गलगलियाको रेल्वे लाइननजिक लागूऔषध बेच्ने पसलहरू रहेको बताइन्छ ।
बेलाबखत भारतीय सीमा सुरक्षा बल एसएसबीले केरकार गर्ने गरेपनि गलगलियामा खुलेआम लागूऔषधको किनबेच भइरहँदा कडाइ गर्ने गरेको छैन । वडा प्रहरी कार्यालय भद्रपुरको कमान्ड सम्हालेका प्रहरी निरीक्षक मोतीलाल योञ्जनले भद्रपुर नाकामा कडाइ गर्दै आएका छन् ।