२०८३ बैशाख ३ गते , विहीबार

रास्वपा झापामा विवाद : सात जना नेता निलम्बित

sajilo news
झापा
२०८२ चैत्र २० गते , शुक्रबार
रास्वपा झापामा विवाद : सात जना नेता निलम्बित

गत वर्ष निलम्बनको कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका पूर्व सभापति उमेश खरेललाई फुकुवा गर्दै उनको विरुद्धमा लागेका ७ जना जिम्मेवार नेतालाई निलम्बन गरेपछि यति बेला पार्टीमा विवाद देखिएको छ ।

रास्वपाले पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोपमा झापाका सात जना नेताहरूलाई निलम्बन गरेको हो ।निलम्बनमा पर्नेहरूमा बिर्तामोड नगर सभापति दीपक दिनेश दाहाल, नगर सचिव सृजन अधिकारी, क्षेत्र नम्बर २ का सचिव राजेन्द्र खनाल, भद्रपुर नगर सभापति प्रेम न्यौपाने, जिल्ला सह–सचिव भीम कुँवर, क्षेत्र नम्बर ३ का सभापति लक्ष्मण बस्नेत तथा क्षेत्र नम्बर ४ की सभापति लीलामाया बस्नेत रहेका छन् । उनीहरूलाई रास्वपाको अनुशासन आयोगले चैत १८ गतेदेखि लागू हुने गरी एक साताका लागि निलम्बन गरेको हो ।

गत वर्ष निलम्बनमा परेका पूर्व जिल्ला सभापति खरेलको सम्बन्धमा बुझ्‌न माघ १६ गते पार्टीका अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालसहितको टोली झापा आएको थियो । खरेलमाथि लागेको आरोपका विषयमा छलफल गर्दै आर्थिक अनियमितताको आरोप लागेका खरेलबाट अनियमितता भएको रकम बराबरको बिगो असुल उपर गर्ने आयोगले निर्णय गरेको थियो । आयोगले खरेललाई १० हजार रकम बिगो तिराउने हिसाब निकालेको थियो ।

त्यस निर्णयलाई हलले अस्वीकार गरेपछि आयोगले आफ्‌नो निर्णय बदल्दै अर्को माइन्यूट गर्नुपरेको थियो । जुन माइन्यूटमा सहभागीहरूले हस्ताक्षर गरेपनि आयोगको टोलीका सदस्यहरूले हस्ताक्षर गरेका थिएनन् । छलफलका क्रममा आयोगका सदस्यहरूमाथि अभद्र व्यवहार गरेको भन्दै ती ७ जनामाथि अनुशासनको कारबाही गरिएको जनाइएको छ । हाललाई निलम्बन मात्र गरिएको र आवश्यक परे थप कारबाहीसमेत हुन सक्ने जनाइएको छ ।

गत वर्षको फागुन अन्तिममा जिल्ला समितिबाट निलम्बनको सिफारिस भएपछि पूर्व सभापति खरेलले पदबाट राजीनामा दिएका थिए । पूर्व सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो । रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसँगै उनले पदबाट राजीनामा दिएका थिए । फागुन २१ को निर्वाचनअघि नै खरेलमाथिको कारबाही फुकुवा भइसकेको छ । खरेलले गत वर्ष साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएपनि उनलाई साधारण सदस्यबाट हटाइएको थिएन ।आफूमाथिको कारबाही फुकुवा नभएर निर्दोष ठहर भएपछि क्लिनचिट पाएको खरेलले बताए ।

खरेलको गलत कार्यलाई ढाकछोप गरेर गलत प्रवृत्तिको विरुद्धमा आवाज उठाउने आफूहरूलाई उल्टै कारबाही गरिएको कारबाहीमा परेका एक जनाले प्रतिक्रिया दिएका छन् । त्यस्तै अर्का निलम्बित कार्यकर्ताले पार्टी नेतृत्वलाई खरेलले प्रभावमा पारेर नियोजित ढङ्गले आफूहरूमाथि कारबाही गर्न लगाएको दाबी गरेका छन् । उनका अनुसार खरेलको नैतिक चरित्रमाथि शङ्का गर्दै एक जना महिला कार्यकर्ताले उजुरी फिर्ता लिए पनि अर्कीले फिर्ता लिएकी छैनन् । गल्ती ढाकछोप गर्न उल्टै आफूहरूमाथि गरिएको कारबाहीको विषयमा पार्टी सभापति रवि लामिछानेलाई भेट्न जाने उनीहरूले बताएका छन् ।

सम्बन्धित समाचार