२०८३ बैशाख ३ गते , विहीबार

राजश्व कार्यालय भद्रपुरले दियो बक्यौता कर नतिर्नेलाई कडा चेतावनी

sajilo news
झापा
२०८२ चैत्र २० गते , शुक्रबार
राजश्व कार्यालय भद्रपुरले दियो बक्यौता कर नतिर्नेलाई कडा चेतावनी

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले लामो समयदेखि कर नतिर्ने करदाताहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गर्ने भएको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), टिडिएस र अन्तःशुल्कको बक्यौता रहेका करदाताहरूलाई तत्काल कर बुझाउन निर्देशन दिएको हो ।

कार्यालयका अनुसार पटक–पटक टेलिफोन, म्याजेज र पत्राचारमार्फत ताकेता गर्दा समेत कर नतिरी अटेर गर्ने करदाताहरूको सङ्ख्या उल्लेख्य रहेको छ । अटेर गर्नेहरूलाई २०८२ चैत महिनाभित्र बक्यौता दाखिला गर्न अन्तिम मौका दिइएको छ ।

के–के हुन सक्छ कारबाही ?

कार्यालयले प्रचलित कानुन बमोजिम कर असुलीका लागि सम्पत्ति रोक्का र लिलामीसम्म गर्ने जनाएको छ । आयकर ऐन, २०५८ को दफा १०४ र १०५ बमोजिम करदाताको सम्पत्तिमाथि दाबी गर्ने र सो सम्पत्ति लिलाम बिक्री गरी सरकारी राजस्व असुल गर्ने, कर नतिर्ने व्यक्तिहरूलाई नेपाल बाहिर जान रोक लगाउन सम्बन्धित निकायमा लेखी पठाउने, बैङ्क तथा वित्तीय संस्थामा रहेको मौज्दातबाट रकम कट्टा गर्ने, चलअचल सम्पत्ति कब्जा गर्ने र आयात निर्यात समेत रोक्का गर्ने जनाइएको छ । यस्तै, नेपाल सरकार वा सरकारी स्वामित्वका संघसंस्थाबाट करदाताले पाउने भुक्तानी कट्टा गरी करमा मिलान गर्ने सूचनामा उल्लेख छ ।

राजस्व कार्यालयले आगामी चैत महिनाभित्रै सबै बाँकी बक्यौता चुक्ता नगरेमा बिना कुनै थप सूचना कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कार्यालयले करदातालाई जिम्मेवार बन्न र कानुनी कारबाहीबाट बच्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार