२०८३ बैशाख ३ गते , विहीबार

आइपीएलमा पन्जाबको लगातार दोस्रो जित, चेन्नईको दोस्रो हार

sajilo news
एजेन्सी
२०८२ चैत्र २१ गते , शनिबार
आइपीएलमा पन्जाबको लगातार दोस्रो जित, चेन्नईको दोस्रो हार

इन्डियन प्रिमियर लिग (आइपीएल)२०२६ अन्तर्गत पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको छ। शुक्रबार चेन्नईस्थित चिन्दम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नई सुपर किङ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। 

चेन्नईले दिएको २१० रनको विजयी लक्ष्य पछाएको पन्जाब किङ्सले १८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। पञ्जाब किंग्सले आइपीएलमा २०० माथिको लक्ष्य पूरा गरेको यो आठौं पटक हो।

पन्जाबको जितमा कप्तान श्रेयस अय्यरले ५० रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा ४चौका र ३ छक्का प्रहार गरे।  ओपनरद्वय प्रियांस अर्या र प्रभसिम्रन सिंहले क्रमश: ३९ र ४३ रन बनाए। कुपर कोनोलीले ३६, नेहाल बडेराले १० रन बनाउँदा शशांक सिंह १४ र मार्कस स्कोटोनिस ९ रनमा अविजित रहे। 

चेन्नईका लागि बलिङतर्फ म्याट हेन्री र अंशुल कम्बोजले २-२ विकेट लिए। त्यसअघि,पहिलो इनिङ्समा ब्याटिङ गरेको चेन्नईका लागि आयुष महात्रेले सर्वाधिक ७३ रनको पारी खेले। उनले ४३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। आयुषले कप्तान ऋतुराज गायक्वाडसँग दोस्रो विकेटका लागि ९६ रनको साझेदारी बनाएका थिए।

वन डाउन आएका १८ वर्षीय ब्याटर आयुषले अघिल्लो सिजन आफूलाई प्रमाणित गरेका थिए। यसअघि उनी ओपनर पोजिसनमा खेल्थे तर सन्जु सामसन चेन्नईमा आबद्ध भइसकेपछि उनी वान डाउन खेल्न थालेका हुन्। ओपनर ब्याटर सन्जु सामसन ७ रनमा पेभिलियन फर्किँदा चेन्नईको इनिङ उकास्न आयुषले कप्तान ऋतुराजसँग साझेदारी बनाउँदै परिपक्क पारी खेलेका थिए।

कप्तान ऋतुराजले व्यक्तिगत रूपमा २२ बलमा २ चौका सहित२८ रन बनाए। सर्फराज खानले ३२ रन बनाउँदा शिवम दुबे ४५ रनमा अविजित रहे। पञ्जाबका लागि बलिङतर्फ विजयकुमार वैशाकले २ विकेट लिए। जेबियर वार्टलेट, मार्को यानसेन र युजबेन्द्र चेहेलले १-१ विकेट लिए।

दोस्रो हारसँगै चेन्नईको लागि २०२६ को आइपीएलको सुरुवात राम्रो भएको छैन। दुई खेलमा दुई हार बेहोर्दै अंकतालिकामा चेन्नई पुछारमा पुगेको छ।
पन्जाब भने लगातार दुई जितसहित शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार आइपीएलमा दुईवटा खेलहरू रहेका छन्। पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच नेपाली समयअनुसार दिउँसोको ३:४५ मा सुरु हुनेछ। दोस्रो खेल गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच साँझ ७:४५ मा खेल सुरु हुनेछ।

सम्बन्धित समाचार