बलात्कार कसूरमा पक्राउ परेका बिर्तामोडका व्यवसायी मित्तल अस्पतालमै!, फेरि ५ दिनको म्याद थप
जबरजस्ती करणी उद्योग (बलात्कार) कसूरमा पक्राउ परेका झापाका व्यवसायी प्रदीप मित्तललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले फेरि ५ दिनको म्याद थप गरेको छ ।
उनलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि थप पाँच दिनको अनुमति लिइएको प्रहरीले जनाएको छ । यसअघि पनि अदालतले पाँच दिनको म्याद दिएको थियो । जुन म्याद शुक्रवार सकिएको थियो ।
गत चैत १६ गते बिहान मित्तल पक्राउ परेका थिए । उनी पक्राउ परेको रातिदेखि नै अस्पतालमा छन् । चैत १६ गते राति बिरामी भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी हिरासतबाट बिर्तासिटी अस्पताल भर्ना गरिएका मित्तललाई अझै अस्पतालमै राखिएको हो । अस्पतालले डिस्चार्ज नदिएका कारण आरोपितलाई लान नसकिएको प्रहरीले जनाएको छ ।
व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगति टोलमा सात बिगाहा जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटलसमेत निर्माण सुरु गरेका छन् । सोही भेनियर उद्योगमा काम गर्ने मेचीनगर १४ की महिलाकी २३ वर्षीया छोरीलाई गत चैत ३ गते दिउँसो १ः१५ बजे मित्तलले घरमै गएर यौनजन्य हिंसा गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । ती युवतीले आफूमाथि मित्तलले गरेको यौन दुर्व्यवहार र पैसा सहितको प्रलोभन देखाएको भिडियो कैद गरेको र त्यसको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।