सन्थाल गोल्डकप : बान्जाभिट्टा सिर्जन क्लब सेमिफाइनलमा
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकप फुटबल प्रतियोगितामा पश्चिम बंगालको बान्जाभिट्टा सिर्जन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मदरगाछ एफसीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बान्जाभिट्टाले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
मदरगाछ एफसीका लागि ३७ औं मिनेटमा पहिलो गोल भएको थियो भने बान्जाभिट्टाले ६४ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो ।सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ द्वारा आयोजित प्रतियोगिताको उद्घाटन शनिबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका थिए । बिर्तामोड नगरपालिका संरक्षक रहेको प्रतियोगितामा भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजकका रूपमा रहेका छन् ।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँमा सीमित हुनेछ । यसैबीच उक्त कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईँले खेलकुदमार्फत समुदायको पहिचान र एकता सुदृढ हुने बताउँदै यस्ता प्रतियोगितालाई स्थानीय सरकारको निरन्तर सहयोग रहने उल्लेख गरिन् । खेल तालिका अनुसार सोमबार हल्दिवारी फुटबल क्लब र जोल्पा जते सन्थाल विद्रोही क्लब (पश्चिम बंगाल) बीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक टिका हस्ताले जानकारी दिएका छन् ।