मुम्बईलाई हराउँदै राजस्थान आइपीएल तालिकाको शीर्ष स्थानमा उक्लियो
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि २७ रनको शानदार जित दर्ता गरेको छ।
वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रनको विशाल योगफल तयार पारेको थियो। राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरे। ‘प्लेयर अफ द म्याच’ बनेका जैसवालले ३२ बलमा ७७ रनको अविजित इनिङ खेले। अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए।
१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्यो। राजस्थानका बलरले कसिलो बलिङ गर्दा मुम्बईका कुनैपनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। मुम्बईका कप्तान हार्दिक पाण्डेया र ओपनर रोहित शर्मालेसमेत दोहोरो अंकमा रन जोड्न सकेनन्।
यो जितसँगै राजस्थान रोयल्स लगातार तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलमा एउटा मात्र जित निकालेको मुम्बई इन्डियन्स सातौँ स्थानमा छ।