गुजरातको रोमाञ्चक जित, दिल्ली १ रनले पराजित
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को संस्करणमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनले हराएको छ। दिल्लीलाई निकै झिनो अन्तरले पराजित गर्दै गुजरातले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । दिल्लीको भने यो पहिलो हार हो।
दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। गुजरातले दिएको २११ रनको विजयी लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो।
दिल्लीका लागि ओपनर ब्याटर के एल राहुलले सर्वाधिक ९२ रनको पारी खेले। उनले ५२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि पाथुम निशान्कासँग ७६ रनको साझेदारी गरेका थिए। ओपनर पाथुम निशान्काले ४१ रनको पारी खेलेका थिए।
त्यसपछि एक इन्डबाट लगातार विकेट गइरह्यो। मध्यक्रममा आएका डेविड मिलरले एक तर्फबाट पारी सम्हाले। उनीसँग विपराज निगमले केही समय साझेदारी बनाए। विपराज र डेविडले सातौं विकेटका लागि ३६ रनको साझेदारी बनाएका थिए। यो साझेदारी दिल्लीको जितका लागि निकै महत्वपूर्ण थियो । यी दुईले ब्याटिङ गरिरहँदा दिल्लीको जितको सम्भावना पनि कायमै थियो। अन्तिम ओभरको ६ बलमा १३ रन आवश्यक परेको अवस्था थियो। बलिङमा गुजरात टाइटन्सका लागि प्रसिद्ध कृष्णले अन्तिम ओभरको जिम्मेवारी पाए। जसमा उनले १२ रन बचाउनुपर्ने थियो।
पहिलो बलमा विपराजले मिड अफमा चौका प्रहार गरे। दोस्रो बलमा विपराज आउट भए। १९.२ ओभरमा विपराजको विकेट गएसँगै दिल्ली धरापमा पर्यो। तेस्रो बलमा कुलदिप यादवले १ रन लिएर मिलरलाई स्ट्राइक दिएका थिए। चौथो बलमा मिलरले छक्का प्रहार गरे। त्यसपछि २ बलमा २ रन आवश्यक थियो। मिलरले एक बलमा डट खेले भने अन्तिम बलमा पनि ब्याटले मिस गरे। सोहि बललाई बाइ मार्फत प्राप्त भएको रन लिने प्रयासमा कुलदिप यादव रन आउट भए। मोबाइलको अन्तिम बलसम्म पनि यो खेल निकै रोमान्चक बनेको थियो। दिल्लीका लागि डेविड मिलरले ४१ रनको अविजित पारी खेले।
दिल्लीलाई रोक्न गुजरात टाइटन्सका लागि रासिद खान र प्रसिद्ध कृष्णले क्रमश: ३ र २ विकेट लिए। मोहम्मद सिराजले १ विकेट लिए । त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि नियमित कप्तान शुभमन गिलले सर्वाधिक ७० रनको पारी खेले उनले ४५ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। घाँटीमा लागेको चोटका कारण केही खेल गुमाएका उनी पुन मैदान फर्किएका थिए। पन्जाबसँगको खेलपछि सुभमनले त्यसपछिका खेलहरु खेलेका थिएनन्।
ओपनरबाट साइ सुदर्शनले १२ रन बनाउँदा जोश बटलरले ५२ रनको अर्धशतकीय पारी खेले । वासिङ्टन सुन्दरले ५५ रनको अर्को अर्धशकीय पारी खेल्दै गुजरातको इनिङ्स उकासेका थिए। ग्लेन फिलिप्स १४ रनमा अविजित रहे। दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिएका थिए। कुलदिप यादव र लुंगी एंगिडीले १-१ विकेट लिए।
गुजरातले ३ खेलमा २ हार र १ जित सहित २ अंकसहित अंकतालिकामा छैटौँ स्थानमा रहेको छ। दिल्लीले समान ३ खेलबाट २ जित र १ हारसहित ४ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। आइपीएलमा आज एक खेल रहेको छ। जसमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सले नेपाली समयअनुसार ७:४५ मा खेल्नेछन्।