बलात्कार आरोपी बिर्तामोडका व्यवसायी प्रदीप मित्तल अस्पतालमै, फेरि ५ दिनको म्याद थप
जबरजस्ती करणी उद्योग (बलात्कार) कसूरमा पक्राउ परेका झापाका उद्योगी प्रदीप मित्तललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले तेस्रो पटक फेरि ५ दिनको म्याद थप गरेको छ ।
उनलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि तेस्रो पटक पाँच दिनको अनुमति लिइएको प्रहरीले जनाएको छ । यसअघि पनि अदालतले पाँच –पाँच गरी दुई पटक १० दिनको म्याद दिएको थियो । गत चैत १६ गते बिहान मित्तल पक्राउ परेका थिए ।
उनी पक्राउ परेको रातिदेखि नै अस्पतालमा छन् । चैत १६ गते राति बिरामी भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी हिरासतबाट बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो । उनी अस्पतालबाट जान नमानिरहेको प्रहरी स्रोतले जनाएको छ । अस्पतालले पनि डिस्चार्ज दिन खोजिरहेको छैन ।
आज म्याद थप गरिसकेपछि जसरी भएपनि उनलाई प्रहरी हिरासतमा लैजाने तयारी रहेको छ । यसअघि नाबालिका बलात्कारको आरोपमा पक्राउ पर्दा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीले पनि हिरासतमा नबसी बीएण्डसी अस्पतालमै प्रहरी अनुसन्धान पूरा गर्न लगाएका थिए । पछि झापा जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा राख्न आदेश दिँदासमेत उनी बीएण्डसीमै बसेका थिए । पहुँचको भरमा आरोपितलाई हिरासतमा नराखेको भन्दै त्यसबेला प्रहरी प्रशासनको तीव्र आलोचना भएको थियो ।
जुन दृष्टान्त प्रदीप मित्तलसंग पनि देखिएको छ । गत चैत ३ गते दिउँसो १.१५ बजे मेचीनगर –१४ पाथीभरा टोलमा बिर्तामोड –२ बस्ने ६२ वर्षीय मित्तलले २३ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए । सोही दिन ती युवतीले इप्रका धुलाबारीमा जाहेरी दिएकी थिइन् ।