२०८३ बैशाख ३ गते , विहीबार

मुकुलको आक्रामक ब्याटिङमा लखनउको शानदार जित

sajilo news
एजेन्सी
२०८२ चैत्र २७ गते , शुक्रबार
मुकुलको आक्रामक ब्याटिङमा लखनउको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को संस्करण अन्तर्गत लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।

कोलकातास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको लखनउ सुपर जायन्ट्सले ७ विकेटको क्षतिमा अन्तिम ओभरको अन्तिम बलमा लक्ष्य पूरा गर्दै जित दर्ता गरेको हो।

लखनउको लागि २१ वर्षीय मुकुल चौधरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। उनले २७ बलमा २ चौका र ७ छक्का सहित ५४ रनको अविजित अर्धशतकीय पारी खेले। 

लखनउले १६ ओभर सकिँदा ७ विकेटको क्षतिमा १२८ रन बनाएको थियो। लखनउलाई २४ बलमा ५४ रनको आवश्यक थियो। एक समय मुकुल ८  बलमा २ रन बनाएर खेलिरहेका थिए। त्यो अवस्थाबाट मुकुलले आक्रमक ब्याटिङ गर्दै अन्तिम ओभरमा ६ बलमा १४ रन चाहिएको अवस्थामा २ छक्कासहित टिमलाई जित दिलाए। अन्तिम ओभरमा १४ रन चाहिएको थियो। कोलकाताको लागि बलिङमा वैभव अरोरा आए । उनले १३ रन बचाउनुपर्ने जिम्मेवारी पाएका थिए।

लखनउको लागि स्ट्राइकमा आवेश खान थिए । उनले १९.१ मा १ रन लिँदै स्ट्राइक मुकुललाई दिए। १९.२ मा मुकुलले शानदार छक्का प्रहार गरे। १९.३ र १९.४ डट बल भयो। १९.५ मा पुनः मुकुलले छक्का हाने । अन्तिम बल लखनउलाई जितको लागि १ रनको आवश्यक थियो । १९.६ ओभरमा बाइ मार्फत एक रन लिँदै मुकुलले लखनउलाई जित दिलाए।

ओपनरद्वय मिचेल मार्स र एडन मार्करमले क्रमश: १५ र २२ रन बनाए कप्तान ऋषभ पन्तले १० रन बनाउँदा आयुष बडोनीले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए। निकोलस पुरनले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  कोलकाता नाइट राइडर्सको लागि वैभव अरोरा र अनुकूल रोयले २-२ विकेट लिए । क्यामेरोन ग्रिन, कार्तिक त्यागी र सुनिल नाराइन १-१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सको लागि अंगकृष रघुवंशीले सर्वाधिक ४५ रन बनाए । उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। कप्तान तथा ओपनर अजिन्क्य रहनेले ४१ रन बनाए। क्यामेरोन ग्रिन ३२ र रोभ्मन पावेल ३९ रनमा अविजित रहे। लखनउका लागि बलिङतर्फ प्रिन्स यादव, मनिमरण सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले १-१ विकेट लिए। 

लखनउ ३ खेलमा २ जित सहित ४ अङ्क बटुल्दै अंकतालिकाको पाँचौं स्थानमा रहेको छ।कोलकता नाइट राइटर्स भने चार खेल खेल्दा हालसम्म जितविहीन रहेको छ। शुक्रबार आइपीएलमा एक खेल रहेको छ। राजस्थान रोयल्स (आरआर) र रोयल च्यालेन्जर्स बेंगलोर(आरसीबी)ले नेपाली समयअनुसार ७:४५ मा गुहाटीमा खेल्नेछन्।
 

सम्बन्धित समाचार