बाह्रदशीमा प्रधानाध्यापक छनोटको बिषयमा अदालतमा मुद्दा, छनोट प्रक्रिया स्थगित
(जनक राउत) बाह्रदशी । अदालतको अन्तरिम आदेशपछि बाह्रदशी गाउँपालिकाले प्रधानाध्यापक छनोटसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । उच्च अदालत इलामले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि बाह्रदशी गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि छनोट प्रक्रिया रोकिएको जानकारी दिएको हो। विद्यालय विकास प्रस्तावनाको प्रस्तुतीकरण र अन्तर्वार्ता आज तोकिएको थियो ।
प्रधानाध्यापक छनोटका लागि प्राथमिक तहतर्फ( कक्षा १ देखि ५ सम्म) सुन्दर आधारभूत विद्यालयका सुपाल राजवंशी , कटरडाँगी आधारभूत विद्यालयका टंकप्रसाद सापकोटा , भगवती आधारभूत विद्यालयका लालबहादुर थापा , घोडामारा आधारभूत विद्यालयका खड्गनारायण राजवंशी , राधानगर आधारभूत विद्यालयका रमेशप्रसाद शाह , पशुपति आधारभूत विद्यालयका सकुन् तला कट्टेल , पञ्चमणि माविका लोकबहादुर कार्की र सरोजा अर्याल तथा भगवती आधारभूत विद्यालयका गजाधर ढकालले आवेदन दिएका थिए । त्यस्तै निम्न माध्यमिक तहतर्फ ( कक्षा २ देखि ८ सम्म) पञ्चमणि माविका तुलाराम निरौला , जनविकास माविका शिवप्रसाद पोखरेल , फूलबारी माविका घनश्याम उप्रेती र नरेश बरालले आवेदन दिएका थिए ।
प्रधानाध्यापक नियुक्तिका लागि उम्मेदवारहरूले पेस गरेको विद्यालय विकास प्रस्तावको प्रस्तुतीकरण तथा अन्तर्वार्ता प्रक्रिया अघि बढ्ने क्रममा मुद्दा परेपछि अदालतबाट अन्तरिम आदेश आएको थियो। सोही आदेशको आधारमा प्रक्रिया स्थगित गरिएको पालिकाले जनाएको छ।