२०८३ बैशाख ३ गते , विहीबार

झापामा इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगिता सुरु

sajilo news
झापा
२०८२ चैत्र २७ गते , शुक्रबार
झापामा इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगिता सुरु

झापा । १ सय ४३ रनको फराकिलो जित निकाल्दै बोस्टन क्रिकेट एकाडेमीले अर्जुनधारामा सुरु भएको इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सह–आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा काँकडभिट्टाको मिलन क्रिकेट एकाडेमीलाई पराजित गर्दै बोस्टनले शानदार जित निकालेको हो।

टस जितेर पहिलो ब्याटिङ रोजेको बोस्टनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १६ रनको विशाल योगफल तयार पारेको थियो। उसका लागि कप्तान एनोक राईले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा १ सय ३ रनको शतक प्रहार गरे। उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस्तै, प्रत्यक्ष बास्तोलाले २६ बलमा ४४ रनको योगदान दिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको मिलन क्रिकेट एकाडेमी १३ ओभर १ बलमा मात्र ७४ रनमा समेटियो। उसका लागि सुभम सर्दनले १५ र नीरज भट्टराईले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बोस्टनका पिउस राजवंशी र इन्दिप बस्नेतले समान २–२ विकेट लिए।

यसैगरी, आजै भएको दोस्रो खेलमा धुलाबारीको सरस्वती क्रिकेट एकाडेमीले दमकको आस्था क्रिकेट एकाडेमीलाई ८७ रनले पराजित गर्दै विजयी सुरुवात गर्‍यो।

टस जितेर ब्याटिङ रोजेको सरस्वतीले ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। उसका लागि निजल राईले ३५ तथा कुश साहले २८ रनको योगदान गरे। आस्थाका रुविन भण्डारीले ३ विकेट लिए।

१ सय ५० रनको लक्ष्य पछ्याएको आस्था एकाडेमी १२ ओभर २ बलमा ६२ रनमै अलआउट भयो। उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। सरस्वतीका अनुराग आचार्यले ४ तथा कुश साहले २ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका कुश साह ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा नेपालका ८ तथा भारतको कोलकाता र पटनाका २ टोलीसहित कुल १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा सञ्चालन हुनेछ। दुई समूहमा विभाजित टोलीहरूले समूह चरणमा चार–चार खेल खेल्नेछन् र शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिग चरणमा ‘प्लेयर अफ द म्याच’लाई १ हजार, सेमिफाइनलमा २ हजार र फाइनलमा ५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो। अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा, बोस्टन क्रिकेट एकाडेमीका सञ्चालक विनीत बास्तोलालगायतको उपस्थिति रहेको थियो।

ग्रुप ए अन्तर्गत भोलि हुने पहिलो खेलमा हिमावी क्रिकेट एकाडेमी दमक र मिलन क्रिकेट क्लब काँकरभिट्टाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा बोस्टन क्रिकेट एकाडेमी र सरस्वती क्रिकेट एकाडेमी आमनेसामने हुनेछन्। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

सम्बन्धित समाचार