२०८३ बैशाख ३ गते , विहीबार

वैभव र ध्रुवको आक्रमक शतकीय साझेदारी, राजस्थानको आरसीबीमाथि सहज जित

sajilo news
एजेन्सी
२०८२ चैत्र २८ गते , शनिबार
वैभव र ध्रुवको आक्रमक शतकीय साझेदारी, राजस्थानको आरसीबीमाथि सहज जित

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा राजस्थान रोयल्स (आरआर)ले रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) लाई ६ विकेटले पराजित गरेको छ।

शुक्रबार गुहाटीको बारसापारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो। आरसीबीले दिएको २०२ रनको विजयी लक्ष्य पछाएको राजस्थान रोयल्सले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

राजस्थानको जितमा ध्रुव जुरेलले सर्वाधिक ८१ रनको अविजित पारी खेले। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। ध्रुवले ओपनर युवा ब्याटर वैभव सूर्यवंशीसँग दोस्रो विकेटका लागि १०८ रनको शतकीय साझेदारी बनाएका थिए। यी दुईको आक्रमक ब्याटिङले राजस्थानलाई जितका लागि निकै सहज बनायो।

 ओपनर ब्याटर यशस्वी जैसवाल १३ रनमा पेभेलियन फर्किदा वैभव सूर्यवंशीले २६ बलमा ८ चौका र ७ छक्का सहित ७८ रनको आक्रमक पारी खेलेका थिए। कप्तान रियान पराग ३ रनमा पेभेलियन फर्किँदा रविन्द्र जडेजाले ध्रुव जुरेलसँग पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरे। रविन्द्र जडेजा २४ रनमा अविजित रहे। आरसीबीका लागि बलिङतर्फ कुर्नाल पाण्ड्या र जोश हेजलवुडले २-२ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको आरसीबीको लागि कप्तान रजत पाटीदारले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ४० बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। १० ओभरको खेल अगाडि नै ५ विकेट गुमाइसकेको आरसीबीको लागि रजतले सम्हालिएको पारी खेलेका थिए। ओपनर ब्याटर फिल साल्ट डकआउट हुँदा अर्का ओपनर विराट कोहोलीले ३२ रन बनाए। देवदत्त पाडीकलले १४ रन बनाए।

 एउटा क्रिजबाट लगातार विकेट गइरहँदा कप्तान पाटीदारले आरसीबीको ब्याटिङ सम्हालेका थिए। टिम डेभिडले १३ रन बनाए। सातौँ विकेटका लागि रोमारियो सेफर्ड र कप्तान रजतले ३१ रनको सानो साझेदारी बनाउँदै इनिङ्स उकासेका थिए। रोमारियो सेफर्डले ११ बलमा दुई चौका र एक छक्का सहित २२ रन प्रहार गर्दै बीचमा केही आक्रमक पारी खेल्ने प्रयास गरे। कप्तान रजतले आठौँ विकेटका लागि व्यङ्कटेस अय्यरसँग ४१ रनको साझेदारी बनाए। व्यङ्कटेस अय्यर २९ र भुवनेश्वर कुमार ९ रनमा अविजित रहे। 

राजस्थान रोयल्सका लागि बलिङतर्फ जोफ्रा आर्चर,  रवि बिस्नोई र ब्रिजेश शर्माले २-२ विकेट लिए । सन्दिप शर्मा र रविन्द्र जडेजाले १-१ विकेट लिए। शनिबार आइपीएलमा दुई खेल रहेका छन्। पहिलो खेल पन्जाब किङ्स र सनराइजर्स हैदराबाद बीच हुनेछ । दोस्रो खेल चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स बीच हुनेछ।

सम्बन्धित समाचार